काठमाडौं, २१ कात्तिक । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल सरकारले अस्विकार गरी दिएको स्पष्ट पार्नु भएको छ ।
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले ती समस्या कूटनीतिक तथा राजनीतिक तहबाट समाधान गर्ने कामलाई सरकारले अघि बढाएको पनि बताउनु भयो ।
बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले एक पक्षीय रुपमा भारतले जारी गरेको पोलिटिकल नक्सालाई सरकारले अस्विकार गरिदिएको बताउनु भयो ।
‘एक पक्षीय रुपमा भारतले हालै जारी गरेको पोलिटिकल नक्सालाई हामीले अस्विकार गर्ने निर्णय गरेका छौ,’ मन्त्री बास्कोटाले भन्नु भयो, ‘कूटनीतिक, राजनीतिक तहबाट ती समस्या समाधान गरिनेछ ।’
उहाँले नेपालको करिव २ प्रतिशत भूमि भारतले मिचेको तथ्यांक सरकारसँग रहेको उल्लेख गर्दै त्यसलाई ऐतिहासिक तथ्यको आधारमा समाधान गर्न पनि नेपाल सरकार दृढ रहेको बताउनु भयो ।
नेपालको भूमि मिच्न नदिने सरकारको अडान यथावत रहेको पनि मन्त्री बास्कोटाको भनाई छ । मन्त्री बास्कोटाले नेपालमा कुनै पनि प्रकारको आतंकवादी गतिविधि हुन नदिने प्रतिवद्धता पनि दोहो-याउनु भयो ।
नेपालमा आतंकवादी गतिविधिको सम्भावना बढेर गएको अमेरिकी सरकारको प्रतिवेदन सार्वजनिक भईरहेका बेला उहाँले त्यस्ता खालका बाह्य वा घरेलु गतिविधि हुन नदिन नेपाल सरकार सचेत रहेको बताउनु भयो । मन्त्री बास्कोटाले कानुन विपरितका कुनै पनि गतिविधि नेपालमा गर्ने छुट कसैलाई नरहेको पनि बताउनु भयो ।