भारतको नक्सा स्विकार्दैनौं : नेपाल, नयाँ नक्सामा नेपाली भूमि मिचिएको छैन : भारत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतको नक्सा स्विकार्दैनौं : नेपाल, नयाँ नक्सामा नेपाली भूमि मिचिएको छैन : भारत

gokul

काठमाडौं, २२ कात्तिक । भारतले सार्वजनिक गरेको नयाँ नक्सापछि उत्पन्न विवादको विषयमा नेपाल र भारतका अधिकारीहरूले आफ्नो धारणा राखेका छन् । नेपालले भारतले सार्वजनिक गरेको नक्सा आफूहरूका लागि अमान्य भएको स्पष्ट पारेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भारतले जारी गरेको नयाँ नक्सा नेपालले स्वीकार नगर्ने बताएका छन् । मन्त्रिपरिषद्ले गरेको निर्णय बिहीबार सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले भारतद्वारा जारी एकपक्षीय नक्सा सरकारले अस्वीकार गर्दै उनले कूटनीतिक एवं राजनीतिक तहबाट त्यसलाई समाधान गर्ने बताए ।

‘एकपक्षीय रूपमा जारी भएको भारतको नक्सा नेपाललाई अस्वीकार्य छ, अस्वीकार गर्ने जानकारी नेपालले भारतलाई दिइसकेको छ,’ मन्त्री बाँस्कोटाले भने, ‘हामीले हाम्रो अडान प्रस्ट्याइसकेका छौं, राजनीतिक र कूटनीतिक रूपमा समस्याको समाधान गर्ने हो ।’

सीमाका विषयमा अन्य ठाउँमा समेत विवाद रहेको बताउँदै मन्त्री बाँस्कोटाले ती सबै विवादित विषयमा समाधान गर्न पहल थालिएको जानकारी दिए । लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई लिएर भारतसँगको सिमानामा विवाद रहेको छ । सरकारले आफ्नो भूमि मिच्न नदिने बताउँदै उनले नेपालको सार्वभौमसत्ता जोगाउन सरकार तयार रहेको बताए ।

२०१८ सालमै कालापानीमा जनगणना भइसकेको र राजस्व संकलन पनि सरकारले गरिसकेको जानकारी दिँदै उनले कालापानी भारतको भए नेपालले जनगणना गर्नै नसक्ने बताए । अर्काको भूमिमा गएर राजस्व संकलनका लागि अड्डा स्थापना तथा जनगणना गर्न नसकिने दाबी गर्दै उनले यस विषयमा सरकार गम्भीर रहेको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);