युवाहरु कृषि पेशातर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

युवाहरु कृषि पेशातर्फ आकर्षित

काठमाडौं, १६ कात्तिक । विदेश जाने युवाहरुको संख्या दिनप्रति दिन बढी रहेका बेला देश मै केही गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने विश्वासका साथ उद्यम गर्ने युवाहरुको संख्या बढ्दै गएको छ ।

पछिल्लो समय नयाँ नयाँ प्रविधि र प्रयोगसंगै युवाहरुले फरकफरक पेशा पछ्याएर स्वदेश मै आफुलाई स्थापित गरेको पाइन्छ । विभिन्न पेशा व्यवसाय गर्दै आएका युवामध्ये केही युवाहरु कृषि पेशामा लागेर आम्दानीका लागि विदेशिनु पर्दैन भन्ने उदाहरण समेत बन्न सफल भएका छन् ।

देशमा रोजगारीको व्यवस्था छैन भन्दै रोजगारका लागि हरेक दिन हजारौँका संख्यामा युवाहरु विदेशीने गरेको समयमा डडेल्धुराका केही युवाहरुले भने च्याउ खेतीवाट बार्षिक १२ लाख सम्म आम्दानी गरिरहेका छन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का २९ वर्षका खेमराज जोशी आफ्नै गाउँमा बसेर च्याउ खेती गरी मनग्य आम्दानी गरी रहेका छन् । विदेश जाने योजनालाई थाँती राखी ३ रोपनी जग्गा भाडामा लिएर च्याउ खेती गरिरहेका उनले घर परिवारको खर्चको व्यवस्था गरेर बार्षिक १२ लाख आम्दानी गरिरहेका छन् ।

अहिले उनले च्याउ खेतीबाट मनग्ये आम्दानी गर्नुको साथै गाउँका केही युवाहरुलाई रोजगारी समेत दिएका छन् । बिदाको समयमा भारत गएर काम गर्ने युवाहरु आफ्नै गाउँ घरमा काम गर्न पाउँदा पढाई खर्चको साथै घर खर्च पनि चलिरहेको हुँदा स्थानीय युवा पनि खुशी भएका छन् ।

यता, पूर्वमा इलाममा पनि युवाहरु बाख्रापालनमा लागेर पर्याप्त आम्दानी गरिरहेका छन् । पुस्तौँदेखि हुँदै आएको बाख्रापालनलाई नै व्यवसायिक रुपमा अघि बढाएर इलामको गोदकका युवाहरु उदाहरण बनेका छन् । उनीहरुले गएको दशैँमा मात्रै खसी बाख्राबाट पाँच लाख आम्दानी गर्न सफल भएका थिए ।

यसरी स्वदेश मै कृषिमा लागेर पर्याप्त आम्दानी गर्न सफल युवाहरुले बेरोजगारीका कारण भौँतारिएका युवाहरुलाई प्रेरित गर्न सक्दछन् । कृषि ज्ञान केन्द्र डडेल्धुराले जिल्ला मै च्याउको विउ उपलब्ध गराउन सहयोग गरेको कृषि ज्ञान केन्द्रका वरिष्ठ अधिकृत दिलबहादुर विष्ट बताउनुहुन्छ । यी युवा जस्तै अन्य नेपाली युवाहरुले कृषि पेशालाई अंगाल्ने हो भने वैदेशिक रोजगारीका लागि भौँतारिनु पर्ने थिएन ।

डडेल्धुरा र इलाम सहकर्मीको सहयोगमा

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);