शिक्षकलाई तलब खुवाउन विद्यार्थी नै मैनबत्ति उत्पादनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

शिक्षकलाई तलब खुवाउन विद्यार्थी नै मैनबत्ति उत्पादनमा

प्रेम भाट
बैतडी, ८ कात्तिक । आफुहरुलाई पढाउने शिक्षकहरुको पारिश्रमिक जुटाउनका लागि बैतडीको एक विद्यालयका विद्यार्थीहरुले विद्यालयमा मैनबत्ती उत्पादन गरिरहेका छन् ।

बैतडी जिल्लाको पाटन नगरपालिका–९, हुक्केडाँडामा रहेको श्री सिद्धेश्वर माध्यमिक विद्यालयमा रहेको विद्यार्थी मैनबत्ती बनाउन लागेका छन् । कक्षा १० सम्मको पठन पाठन हुने विद्यालयमा हाल ३ सय ५ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

सरकारी सेवामा ३ जना प्राथमिक स्थायी र १ जना प्राथमिक राहत गरी जम्मा ४ जना शिक्षकमात्र नेपाल सरकारको दरबन्दीमा छन् भने ८ जना शिक्षकहरु निजी श्रोतमा कार्यरत छन् ।

अभिभावकहरुबाट बर्षेनी चन्दा संकलन गरेर विद्यालय चलाउनु पर्ने समस्या झेलीरहेको यस विद्यालयले भने विद्यार्थीहरुको सीप विकासका साथसाथै आर्थिक लाभ लिनका लागि विद्यालयमा तिहारलाई लक्षित गरी मैनबत्ती उत्पादन गरिरहेको छ ।

दशै बिदा सकिएसंगै विद्यालय खुलेको दिनदेखि दैनिक एक/एक घण्टा मैन बत्ती बनाउन विद्यार्थीहरु लागी रहेका छन् । कक्षा ६ देखि ८ सम्म पठन पाठन गरिने पेशा व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रम अन्तर्गत विद्यार्थीहरुको प्रयोगात्मक कार्यद्वारा मैनबत्ती बनाउने सीप सिकेको र भविष्यमा पनि घरधन्दा/जिविका चलाउन सहयोग पुग्ने छात्राहरुको भनाई छ ।

काठमाडौंबाट २ सय ७ केजी मैन, ५ सेट साँचा, आवश्यक प्लाष्टिक, रंग र धागो खरिद गरी विभिन्न साईजका १ हजार ८ सय ५० पाकेट मैनबत्तिहरु उत्पादन गरिसकेको र उत्पादन गरिएका मैनबत्तिहरुलाई छिमेकी बजारहरुमा बिक्रीवितरण गरी सोबाट आएको रकमबाट निजी शिक्षकहरुलाई पारिश्रमिक खुवाउने कुरा विद्यालयका शिक्षक लाल सिंह महराले बताउनु भयो ।

सामुदायिक विद्यालयहरु मध्ये जिल्लाकै पहिलो छात्रावास भएको यस विद्यालयमा हाल कक्षा १ देखि ३ सम्म अंग्रेजी माध्यममा पठनपाठन भईरहेको छ । शैक्षिक गुणस्तर संगसंगै विद्यार्थीहरुको पेसागत क्षमता विकासका लागि मैनबत्ती बनाउने कार्यको थालनी गरिएको कुरा विद्यालयका सहायक प्रधानाध्यापक गणेश दत्त अवस्थीले बताउनु भयो ।

५ सय ३८ वटा विद्यालयहरु रहेको बैतडी जिल्लामा पहुँचको भरमा शिक्षक दरबन्दी हुँदै आएको छ । शैक्षिक गुणस्तर सुधारका लागि नमुना योग्य काम गर्ने विद्यालयहरुलाई बिषेश प्राथमिकतामा राखी शिक्षक दरबन्दीको मिलान र व्यवस्थापन गर्न जरुरी देखिन्छ ।

साथै विद्यार्थी तथा अभिभावकहरुको बर्षेनी आर्थिक भारलाई कम गर्न पनि सम्बन्धित निकायहरुले पहल गर्नु पर्ने देखिन्छ । तर यति हुँदाहुँदै पनि बालश्रमको पक्षलाई भने नकार्न सकिन्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);