इलाम, ७ कात्तिक । इलाममा बहुमुल्य प्रजातिको केशरको व्यवसायिक उत्पादन सुरु भएको छ । इलामको माईजोगमाई गाउँपालिकाको थुम्के भन्ने स्थानमा यसको खेती सुरु भएको हो । प्रतिकिलो १० लाखसम्म पर्ने केशर खेतीको पहिलो वर्षमा नै राम्रो उत्पादन भएपछि यसमा लागेका किसान मात्र होइन स्थानीय समेत खुसी भएका छन् ।
प्रतिकिलो दश लाख रुपैंया पर्ने जडिबुटि केशरको व्यवसायिक उत्पादन इलाममा सुरु गरिएको छ । माइजोगमाई गाउँपालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा किसानहरुले सामुहिक रुपमा केशरको खेती सुरु गरेका हुन् ।
भारतको काश्मीरबाट दुइ मन केशरको बीउ ल्याएर थुम्के र जौबारीमा लगाइएको छ । थोरै मात्रामा हिउँ पर्ने र तुषारो पर्ने एक हजार पाँच सय देखि दुइ हजार पाँच सय मिटरको उचाई केशर खेतीका लागि उपयुक्त मानिन्छ । परिक्षणका क्रममा गुणस्तरीय केशर उत्पादन भएको छ ।
केशर उत्पादनका लागि धेरै फूलको आवश्यकता पर्दछ । फूल भित्रको रातो लुर्का संकलन गरि सुकाएर विक्रि गरिन्छ । करिव डेढलाख सुगन्धित फूलबाट मात्र एक किलो केशर उत्पादन हुन्छ । अंग्रेजीमा स्याफरोन भनेर चिनिने केशर खेती युरोपबाट शुरु भएको हो । अहिले नेपालका केही पहाडी भुभागमा यसको व्यवसायिक खेती सुरु भएको छ ।
औषधीय गुण भएको केशर मसलाको रुपमा समेत प्रयोग गरिन्छ । इलाममा भरखरै सुरुभएको केशर खेतिको निरन्तरता र दिगोपनका लागि सम्बन्धित निकायबाट आवश्यक सहयोग जरुरी छ ।