इलाममा अर्गानिक प्रविधिमार्फत अकबरे खुर्सानी उत्पादन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

इलाममा अर्गानिक प्रविधिमार्फत अकबरे खुर्सानी उत्पादन

khursani

टिका खतिवडा

इलाम, २७ माघ । इलाममा अर्गानिक प्रविधिमार्फत अकबरे खुर्सानी उत्पादन गर्न थालिएको छ । यसरी उत्पादित अकबरे खुर्सानी लामो समयसम्म आलै रहने, स्वादमा मिठो र बढी मूल्य पाइने भएकाले किसानहरु अर्गानिक प्रविधिबाट अकबरे खुर्सानी खेतीतर्फ आकर्षित भएका हुन् ।

मदन राई इलाम जिल्लाकै अकबरे खुर्सानीका अग्रणी कृषकका रुपमा परिचित छन् । उनले अकबरे खोर्सानीलाई पनि अर्गानिक प्रविधि मार्फत खेती गर्न थालेका छन् । अर्गानिक प्रविधिबाट गरिएको अकबरे खुर्सानीको उत्पादनले धेरै आम्दानी हुने उनी बताउँछन् । राईको धेरै खेती अकबरे खुर्सानी नै छ । राई दम्पतीले खुर्सानी खेती गर्न थालेको १२ वर्ष बितिसक्यो ।

राईले अकबरे खुर्सानी खेतीबाट धेरै आम्दानी गरेको देखेपछि राई जस्तै त्यहाँका धेरै किसानहरुले अहिले अर्गानिक प्रविधिमार्फत अकबरे खुर्सानीको उत्पादनका लागि अग्रसर भएका छन् ।

रसायनिक मलको प्रयोग घटाएर गाउँघरमै उत्पादन भएको मल प्रयोग गरेर किसानहरु अर्गानिक उत्पादनमा लागिरहेका छन् । अकबरे खुर्सानी इलामको सुर्योदय नगरपालिका, इलाम नगरपालिका, माइजोगमाई गाउँपालिका र रोङ गाउँपालिकाका किसानका लागि भरपर्दो आय श्रोत बनेको छ ।

अकबरे खुर्सानी अलि लामो समयसम्म पनि भण्डारण गर्न सकिन्छ । यो खुर्सानीलाई हरेक समयमा विभिन्न तरिकाले खान सकिने भएकोले यसको बजारीकरणमा पनि समस्या नभएको राईको भनाई छ ।

ईलाम जिल्लामा विगत तीन वर्षदेखि अकबरे खुर्सानीका दुई वटा पकेट कार्यक्रम संचालनमा रहेका छन् । माइ जोगमाई गाउँपालिकाको सोयाङमा लाली गुराँस अकबरे उत्पादन पकेट आयोजना र रोङ गाउँपालिकाको देवानछाप खुर्सानी पकेट आयोजना संचालनमा रहेका छन् ।

खुर्सानी बालीलाई पनि व्यवसायिक बनाउन कृषि ज्ञान केन्द्रमार्फत पोष्ट हार्भेष्ट, साना सिँचाई र बीउ बिजनमा सहयोग गरिँदै आइएको छ । दश हेक्टर क्षेत्रफलमा लगाउनु पर्ने मापदण्ड अनुसार दुबै पकेट क्षेत्रमा कार्यक्रम संचालन भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);