विद्युतीय बस किन्ने प्रक्रिया रोक्न साझालाई पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विद्युतीय बस किन्ने प्रक्रिया रोक्न साझालाई पत्र

bijuli bus

काठमाडौं, ४ कात्तिक । साझा यातायातको ३०० ओटा विद्युतीय बस किन्ने प्रक्रिया हालका लागि अवरुद्ध हुनपुगेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालका लागि किन्ने प्रक्रिया रोक्न पत्र पठाएपछि १ महीनादेखि विद्युतीय बस किन्ने प्रक्रिया रोकिन पुगेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असोज १ गते नै बस किन्ने प्रक्रिया रोक्न साझालाई पत्र पठाएको हो । यसबीचमा साझाले किन्ने प्रक्रिया अघि बढाउन सरकारलाई पत्र लेखे पनि सरकारले कुनै निर्णय गरेको छैन । मन्त्रालयका अनुसार सरकारले विद्युतीय बसको मापदण्ड बनाई साझालाई दिएकोमा साझाले उक्त मापदण्ड फेरेर किन्ने प्रक्रिया अघि बढाउन खोजेपछि किन्ने प्रक्रिया रोक्न निर्देशन दिइएको हो ।

मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले सरकारले बस किन्ने प्रक्रिया रोक्न नभई मापदण्ड बदलिएपछि तत्काल प्रक्रिया अघि नबढाउन मात्र साझालाई पत्र लेखिएको बताए । ‘मन्त्रिपरिषद्ले दिएको मापदण्ड फेरेर साझाले बस किन्न सक्दैन,’ उनले भने, ‘साझाले बनाएको नयाँ मापदण्ड पनि मन्त्रिपरिषद्ले पास गर्नुपर्ने भएकाले अध्ययनका लागि प्रक्रिया रोक्न भनिएको हो ।’ उनले सरकारले बनाएको मापदण्डमध्ये एक मात्र मापदण्ड पनि साझाले पूरा गरेन भने सरकारले त्यसको अध्ययन गर्न सक्ने बताए ।

साझा यातायातले भने सरकारी मापदण्ड अनुसार नै बस किन्नका लागि मापदण्ड बनाइएको दाबी गरेको छ । सरकारले बस किन्नका लागि खाका मात्रै तयार पारेकोमा त्यसलाई आवश्यक परिमार्जन गरी विस्तृत मापदण्ड बनाएको साझाका प्रमुख कार्यकारी अधिकृत भूषण तुलाधरले बताए । ‘सरकारले बसको पूरा मापदण्ड नबनाएर खाका मात्रै बनाएको थियो,’ उनले भने, ‘जस्तो एसी बस कि नर्मल केही थिएन, हामीले मापदण्डमा एसी बस बनाएका हौं ।’ यातायात व्यवस्था विभाग, यातायात मन्त्रालय, महानगरपालिका, विद्युत् प्राधिकरणका पदाधिकारीसहितको समिति बनाएर छलफलबाट बसको मापदण्ड बनाइएकाले त्यसमा समस्या नभएको उनले बताए । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);