एजेन्सी, ३ कात्तिक । चिलीमा मूल्यवृद्धिको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा ३ जनाको ज्यान गएको छ । मेट्रोरेलको भाडामा गरिएको मूल्यवृद्धिको विरोधमा स्कुल तथा विश्वविद्यालयका विद्यार्थीहरुको प्रदर्शन हिंसात्मक भएपछि राजधानी सान्टीयागो स्थित एउटा सुपरमार्केटमा लागेको आगोका कारण ३ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
प्रदर्शन नियन्त्रण गर्न राजधानी सान्टियागोमा आपत्कालीन अवस्थाको घोषणा गर्दापनि सुरक्षा अवस्थामा सुधार नआएपछि राष्ट्रपति सेवास्चीयन पेनेराले मूल्यवृद्धि फिर्ताको घोषणा गरेका छन् ।
राष्ट्रपति पेनेराको घोषणा पछि पनि विरोध प्रदर्शन रोकिएको छैन । प्रदर्शनका क्रममा १ सय ५६ जना प्रहरी र ११ जना प्रदर्शनकारी घाइते भएको तथा ३ सय जना पक्राउ परेको सान्टीयागो प्रहरीले जनाएको छ ।
चिलीमा राजधानी सान्टियागोको महँगो जीवनशैली लगायतका कारण पछिल्लो समय आर्थिक सुधारको माग बढ्न थालेको छ ।




