सिन्धुली, ३ कात्तिक । सिन्धुलीको कमलामाई नगरपालिका–९ का १ हजार ३३ परिवार ४८ वर्षदेखि लालपूर्जाविहिन छन्। जिल्लाको दोस्रो ठूलो व्यापारीक केन्द्र भीमान बजारका ८५ प्रतिशत जग्गाको लालपूर्जा नभएको पाइएको छ। उक्त वडाका वडाध्यक्ष देवराज पौडेलका अनुसार भीमान बजारका साथै पन्नेसी, सुकेखोला, बथानचौडी, कोरुङखोला, हमाहलगायत आधा दर्जन बस्तीमा बसोबास गर्नेको लालपूर्जा छैन।
२४ दशमलव २२ वर्गकिलोमिटर क्षेत्रफल भएको वडामा करिब १३ सय घरधुरी छन्। उक्त वडामा ४ हजार ९ सय ३४ जनसंख्या छ। त्यसमध्ये ८५ प्रतिशत ऐलानी जग्गामा वर्षौंदेखि बसोबास गर्दै आएका छन्। यो तत्कालीन समयमा कमलामाई नगरपालिका गठन नहुँदाको सिंगो भीमान गाविस हो। २०५३ सालमा तत्कालीन शिद्देश्वर र भीमान गाविसलाई एकै ठाउँमा गाभेर कमलामाई नगरपालिका बनाइएको हो। भीमान बजारमा मात्र झण्डै चार सयबढी ठूला पक्की घर निर्माण भइसकेका छन्।
करोडौं रुपैयाँको लागतमा बनाएका आवास स्थानीयले आफ्नो भन्न पाएका छैनन्। त्यो जग्गा कसरी लिए र उनीहरु बस्ने आधार र अधिकार के हो भन्ने कुराको पनि खोजी भएको छैन।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।