रौतहट बम विस्फोटको राति नै प्रहरी इन्चार्जको सरुवा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रौतहट बम विस्फोटको राति नै प्रहरी इन्चार्जको सरुवा

rajpur bom kanda

काठमाडौं, ३ कात्तिक । मोहम्मद अफ्ताव आलमको गाउँ फरहदवासमेत हेर्ने इलाका प्रहरी कार्यालय राजपुरका इन्चार्ज थिए इन्स्पेक्टर इन्द्र सुवेदी । २७ चैत ०६४ को साँझ ६ः१५ मा आलमको गाउँमा विस्फोट भयो । घटना के–कसो हो भनेर बुझ्न सुवेदीको नेतृत्वमा प्रहरी परिचालन भइसकेको थियो । उनी घटनास्थलमा पनि पुगिसकेका थिए, तर राति १० बजे ‘माथि’बाट आएको फोनले सुवेदीको सरुवा भयो । आफ्नो इलाकामा भएको भयानक घटनाको अनुसन्धान गर्न नपाई प्रहरी इन्चार्ज राति नै गौर पठाइयो । लगत्तै उनको ठाउँमा इन्स्पेक्टर राजीव बस्नेत गए । तर, बस्नेत र जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मण न्यौपानेले अनुसन्धान होइन, घटना नै भएको छैन भन्नतर्फ लागे ।

अहिले डिएसपीको रूपमा प्रहरी प्रधान कार्यालयमा कार्यरत सुवेदीले राति नै आफ्नो सरुवा भएकाले घटनाको विषयमा आफूले यकिनसाथ केही भन्न नसक्ने बताए । ‘म भर्खरै इन्स्पेक्टर भएको थिएँ, त्यो ठाउँमा पनि भर्खरै गएको थिएँ, बम विस्फोट भयो भन्ने हल्ला आइरहेको थियो, स्थिति अन्धाधुन्ध थियो,’ उनले भने, ‘अहिले चर्चामा रहेको घटनास्थलमा म पुगेको थिएँ, त्यहाँ के भएको थियो भनेर राम्ररी बुझ्न बाँकी थियो, राति नै १० बजे जिल्ला सरुवा गरियो । अर्को इन्स्पेक्टरसाप त्यहाँ जानुभयो, त्यसपछिको जानकारी मलाई हुने कुरै भएन ।’

बम विस्फोट गराएर जनता भगाउने र बुथ कब्जा गरेर चुनाव जित्ने योजनाका साथ आलमको निर्देशनमा बन्दै गरेका बम अचानक विस्फोट भएपछि पूरै क्षेत्र थर्किएको स्थानीयहरूको भनाइ छ । बम बनाउँदै गरेका अरू थुप्रैसहित दुई होनाहार युवा, त्रिलोकप्रताप सिंह पिन्टु र वसी अख्तरपनि घाइते भएका थिए ।

घाइतेलाई उपचार गर्नुको सट्टा राति नै जिउँदै इँटाभट्टामा हालेर पोलिएको थियो । सबैभन्दा भयानक विषय के छ भने राति १० बजे इन्स्पेक्टरको सरुवा भएको छ, ११ बजे घाइतेहरूलाई ट्र्याक्टरमा हालेर इँट्टाभट्टातर्फ लगिएको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);