काठमाडौं, २९ असोज । चितवन राईनोजले महिला फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग डब्लुसीएलमा विजयी सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा क्याट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गर्दै चितवनले बिजयी सुरुवात गरेको हो ।
किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा काठमाडौंले दिएको ९३ रनको सामान्य लक्ष्य चितवनले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन । यस्तै प्यारी चौधरीले अविजित २४ रन बनाइन ।
त्यसबाहेक ऋतु कनोजिया १४ र काजोल श्रेष्ठले ११ रनको योगदान दिए । काठमाडौंकी ईश्वरी बिस्टले २ विकेट हात पारिन् । यस्तै संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले समान १–१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा १० विकेट गुमाएर ९२ रन बनाएको थियो । प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।