काठमाडौं, २९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय हित र समृद्धिमा सहायक हुनेगरी मुलुकको अन्तराष्ट्रिय सम्बन्ध विकसित भएको बताउनु भएको छ ।
पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणपछि भारत–चीन र नेपालबीच त्रिदेशीय साझेदारीको आधार तय हुँदै गएको विश्वास पनि व्यक्त गर्नु भयो ।
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट भारत, चीन र नेपालबीच त्रिदेशीय साझेदारीको आधार तय हुँदै गएको छ,’ अध्यक्ष दाहालको विश्वास थियो, ‘यसले नेपाललाई उज्वल भविष्यतर्फ डोहोर्याउने सुनिश्चित भएको छ ।’
अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणका क्रममा व्यक्त गर्नु भएको सदभाव र विश्वासले नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको पनि बताउनु भयो ।
दसैं, तिहार, नेपाल संवत र छठको अवसर पारेर पार्टीले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले सरकार मुलुकको समृद्धि र विकासको काममा केन्द्रित भएको पनि बताउनु भयो ।
अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपालका राजनीतिक दलहरुले नयाँ कीर्तिमान कायम गरेको उल्लेख गर्दै त्यसमा आफूलाई गर्व लाग्ने गरेको पनि दोहोर्याउनु भयो ।




