चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८३, मंगलबार

चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौंमा

काठमाडौं, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आइपुग्नुभएको छ । भारतको चेन्नईबाट उहाँ केही समय अघि मात्र त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो ।

चिनियाँ राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गर्नुभएको छ । राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल जाँदै हुनुहुन्छ ।

सोल्टी होटलमा आराम गरेपछि ६ः३० बजे सी नेपाली समकक्षी भण्डारीसँग शिष्टाचार भेटवार्ताका लागि राष्ट्रपति भवन शीतलनिवास जानुहुनेछ ।

राति ७ः१५ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्ने र त्यसपछि राष्ट्रपति भण्डारीले आयोजना गर्ने विशेष रात्रिभोजमा सरिक हुन ७ः३० बजे सोल्टी होटल फिर्ता हुने कार्यक्रम तय भएको छ । रात्रिभोजमा सरिक भएपछि सुरसुधा ब्याण्डद्वारा आयोजित सांगीतिक प्रस्तुतिमा उपस्थित हुने तालिका छ ।

आइतबार बिहानको कार्यतालिकामा उहाँले १०ः३० बजे नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गर्नुहुनेछ । त्यसपछि ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता हुने र सो समयमा द्विपक्षीय सम्झौता समेत हुने कार्यतालिका छ । राष्ट्रपति सी आइतबार दिउँसो १ बजे स्वदेश फिर्ता हुनुहुनेछ ।