घर जानेको लर्को, उपत्यकाबाट बाहिरिए १९ लाख | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

घर जानेको लर्को, उपत्यकाबाट बाहिरिए १९ लाख

ghar janeko larko

काठमाडौं, १८ असोज । दसैं मान्न उपत्यकाबाट करिब १९ लाख यात्रु बाहिरिएका छन्  । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार शुक्रबार साँझसम्म १८ लाख ७१ हजार ८ सय ७५ यात्रु बाहिरिएका छन्  ।

यो संख्या असोज ५ मा टिकट बुकिङ खुला भएयताको हो । यात्रु लगेर १ लाख ९० हजार ९ सय ९४ सवारी साधन उपत्यका बाहिरिएका छन् ।

यो अवधिमा ९ लाख ५२ हजार ५ सय ४५ यात्रु काठमाडौं भित्रिएका छन् । १ लाख ६४ हजार ७ सय २५ गाडी भित्रिएका छन् । यसमा निजी सवारी साधनको संख्यासमेत रहेको ट्राफिक प्रहरीले जनाएको छ । रुटका गाडी कम चल्न थालेपछि काठमाडौंका यात्रु भने मर्कामा परेका छन् । थोरै गाडीले कोचाकोच यात्रु बोक्ने गरेका छन् । ट्याक्सीले भने मनपरी भाडा लिएर यात्रुलाई उल्टै सास्ती दिँदै आएको गुनासो बढेको छ । रुटका गाडी कम चल्दा ट्याक्सीले भाडामा बार्गेनिङ गरिरहेको यात्रुले बताए ।

सुन्धारा, रत्नपार्क, चाबहिल, कोटेश्वर, कलंकीमा यात्रुको भीड बढी लाग्ने गरेको छ । ‘बढी भाडा लिएर यात्रु बोक्ने ट्याक्सीबारे थाहा पाउना साथ कारबाही गर्ने गरेका छौं,’ एसएसपी ढकालले भने, ‘दैनिक ४० वटासम्म कारबाहीमा पर्ने गरेका छन् ।’ बुधबारबाट शुक्रबार साँझसम्म यात्रुको चाप बढी रह्यो । जसले गर्दा उपत्यकामा जाम बढी भएको थियो ।

एसएसपी ढकालका अनुसार राजधानीमा पूजापाठ र किनमेलले गर्दा बढी भीडभाड भएको छ । ‘बाहिरबाट आफन्त लिन राजधानीमा सवारी साधन लिएर आउने पनि छन्,’ उनले भने, ‘जुन कुल संख्याको १० प्रतिशत छ, यसले सवारी चाप बढाएको छ ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार