कुल जनसंख्याको २० प्रतिशत नेपालीलाई मुटुको समस्या
प्रमिला खतिवडा
काठमाडौं, ११ असोज । पछिल्लो समय तनाव कम गर्ने वहानामा मद्यपान, धुमपान, निद्रा लाग्ने औषधी सेवन गर्ने प्रवृत्ति बढेसंगै दैनिक मुटुरोगी विरामीको संख्या बढिरहेको छ ।
कुल जनसंख्याको २० प्रतिशत जति नेपालीलाई मुटुको समस्या देखिएको चिकितसकहरु बताउँछन् । स्वस्थ खानपानमा ध्यान नदिनु, नियमित शारीरिक व्यायाम नगर्नु तथा चिल्लो पिरो र प्याकेटको खाना खान अनि सूर्तिजन्य पदार्थ सेवानका कारण दिनानुदिन नेपलामा मुटु रोगको जोखिम बढिरहेको चिकित्सकहरु बताउँछन् ।
मुटु रोगकै कारण विश्वमा वर्षेनी १ करोड ७५ लाख मानिसहरुको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको यो डरलाग्दो तथ्यांककाबीच नेपालमा पनि बार्षिक ५० देखि ६० लाख मानिसलाई मुटु सम्बन्धी समस्या छ ।
मुटुरोगबाटै नेपालमा वर्षेनी १५ हजार बढीले ज्यान गुमाउने गरेका छन् । मुटु रोगको मुख्य कारणमा अत्यधिक तनाव, सूर्तिजन्य पदार्थको सेवा, प्याकेटको तयारी खाना खानु र नियमित व्यायाम नगर्नु नै कारण देखिन्छ ।
नेपालमा मुटु रोग उपचारको लागि थुप्रै अस्पताल रहेका छन् । अस्पताल रहे पनि मुटुरोगको उपचार महंगो मानिन्छ । उच्च रक्तचाप, बाथ, तनाव जस्ता समस्या छन भने तुरुन्तै उपचार गर्नु पर्छ । नभए यसले मुटुरोग निम्त्याउँछ । बेलैमा उपचार गरे मुटु रोगबाट बच्न सकिन्छ ।
जीवनशैलीका कारण मुटु रोग हुने भएकाले चिल्लो, बोसोयुक्त खानेकुरा खान नहुने, धुम्रपान मदिरापानबाट टाढा रहनुपर्ने हुन्छ । दैनिक व्यायाम गरिदा पनि ९० प्रतिशत मुटु रोग लाग्नबाट बाँच्न सकिने विशेषज्ञहरुको सुझाव छ ।
मुटु रोग बंशानुगत अर्थात जन्मजातदेखि पनि हुनसक्छ र पछि पनि लाग्न सक्छ । मुटुरोगको बढी खर्चिलो र उपचार सेवा सर्वसुलभ नहुँदा सर्वसाधरणलाई उपचारमा निक्कै समस्या हुने गरेको छ ।
पछिल्लो समय सरकारले १५ बर्ष मुनिका बालवालिका र ७५ बर्ष माथिका बृद्धबृद्धालाई मुटुको निशुल्क उपचार गरिदिने व्यवस्था समेत गरेको छ । त्यसैगरी विपन्न बर्गलाई १ लाखसम्म सहुलियत दिने गरेको छ ।




