एजेन्सी, ११ असोज । संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको संख्या कटौतीको घोषणा गरेको छ । आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनस्थापित गरिने अमेरिकी विदेश मन्त्रालयले जनाइएको छ ।
हालको तुलनामा उक्त संख्या ४० प्रतिशतले घटेको जनाइएको छ । यस वर्ष अमेरिकामा ३० हजार शरणार्थी रहन सक्ने गरी संख्या तोकिएको थियो । अमेरिकाको यो पछिल्लो कदमलाई मानवअधिकारवादी तथा यससँग आबद्ध संस्थाहरुले भने आलोचना गरेका छन् ।
शरणार्थी पुनस्र्थापना कार्यक्रम अन्तर्गत यो संख्या सबैभन्दा कम हो । यसै वर्षको संख्या ३० हजार पनि सन् १९८० यताको सबैभन्दा कम हो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति कार्यालय छोडेको अवस्थामा यो संख्या ८५ हजार रहेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीहरूको पुनर्वास कार्यबाट राज्य सरकार र स्थानीय सरकार पछि हट्न सक्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । उनको त्यस निर्णयपछि शरणार्थी संख्या कटौती गर्न थालिएको हो ।