लुम्विनी भ्रमण वर्ष औपचारिकतामा मात्र सिमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

लुम्विनी भ्रमण वर्ष औपचारिकतामा मात्र सिमित

शम्भू माली
कपिलवस्तु, १० असोज । २०७६ साल जेष्ठ ४ गते बुद्ध जयन्तीका दिन निकै तामझाम र बाजागाजाका साथ सुरु भएको लुम्विनी भ्रमण वर्ष औपचारिकतामा मात्र सिमित देखिएको छ । लाखौ रुपैयाँ खर्च गरेर लुम्विनी भ्रमण वर्ष सुरु भएको पनि चार महिना बितिसक्यो । तर अहिले लुम्विनी भ्रमण वर्ष सुरु भएको कुनै छनक देखिदैन ।

अहिले प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्ष चलिरहेको छ । चार महिनापछि नेपाल भ्रमण वर्ष २०२० सुरु हुनेछ । प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्षको नाममा करोडौं रकम खर्च गरिरहेको छ ।

केन्द्र सरकारले पनि पर्यटनकै नाममा बजेट छुट्याएको छ । तर, केन्द्र र प्रदेश सरकारले पर्यटन वर्षका नाममा करोडौं बजेट खर्च गरिरहँदा पनि देशकै मुख्य पर्यटकीय स्थल लुम्बिनी र यहाँका बुद्ध स्थलमा कुनै चहलपहल छैन ।

न त स्थानीयलाई भ्रमण वर्षबारे कुनै जानकारी नै छ । प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षका लागि चार करोड बजेट छुट्याएको छ । त्यसमध्ये प्रचारप्रसारका लागि एक करोड २५ लाख छुट्याइएको छ । तर, विश्वलाई नै लुम्बिनी क्षेत्र चिनाउने गरी के कस्तो प्रचार गरियो भन्ने बारे सम्बन्धित मन्त्रालयका कर्मचारी भने बेखबर छन्।

लुम्बिनीलाई आधार बनाएर प्रदेश ५ लाई मुलुककै उत्कृष्ट पर्यटकीय गन्तब्य बनाउने भन्दै प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरेको हो । तर बुद्ध स्थलमा न पर्यटकीय गतिविधि भएका छन् न त पूर्वाधार विकासमा कुनै प्रगति भएको छ ।

भगबान गौतम बुद्धले २९ बर्ष जिवनयापन गरेको क्रीडास्थल तथा उनका पिता राजा शुद्धोदनको राजप्रसादको राजधानी तिलौराकोट अहिले जंगलमा परिणत भएको छ ।

त्यस्तै गौतम बुद्धले आफ्ना छोरा राहुललाई भिक्षु बनाएको स्थान निग्रोधराम (कुदान) पनि उजाड देखिन्छ । त्यस्तै कनकमुनी बुद्धको जन्म स्थल निगालीकोट र अरौराकोट गौचरण तथा छाडा चौपाया राख्ने ठाँउ भएको छ ।

बुद्धस्थलको त्यस्तो अवस्थाले स्वदेशी मात्रै नभइ विदेशी पर्यटकको समेत मन कुँडिने गरेको छ ।

यता लुम्विनी विकास कोषले भने लुम्बिनीलाई रमणीय बनाउन पहल भईरहेको बताएको छ । लुम्विनी भ्रमण वर्षलाई लक्षित गरी जति सक्दो स्वदेशी तथा विदेशी पाहुनालाई भित्र्याएर बसाेबास गराउने कार्यक्रममा भएको तथा लुम्बिनीलाई रमणीय ठाउँ बनाउन खोजेको लुम्विनी विकास कोषले बताएको छ । तर प्रदेश सरकारले त्यसतर्फ कुनै कदम नचालेको लुम्विनी विकासको आरोप छ ।

२०७६ साल जेठ ४ गते बुद्ध जयन्तीका दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेबाट निकै तामझामका साथ लुम्बिनी भ्रमण वर्ष शुरु गरीएको थियो ।

तर लुम्बिनी भ्रमण वर्षको शुभारम्भ औपचारिक रुपमा मात्र सिमित देखिएको छ । कपिलवस्तुको खुल्ला संग्राहालयमा तिलौराकोटदेखीको सातवटा साईडहरुमा भ्रमण बर्षमा आउने पर्यटकहरुका लागि बाटाघाटा, शौचालय, होटलको स्थापना गर्न सके भ्रमण बर्षले सार्थकता पाउनेछ । हैन भने सरकारले अघि सारेको लक्ष्य भाषणमा मात्र सिमित हुने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);