काठमाडौं, ९ असोज । अन्यक्षेत्र सरह चौपाया क्षेत्रमा पनि बिचौलियाहरु हाबी हुने गरेका छन् । पशु सेवा विभागका अनुसार व्यापारीहरुले किसानबाट प्रतिकिलो जिउँदो खसी ३ सय ५० देखि ४ सय ५० रुपैयाँमा खरिद गर्छन् ।
ती खसीबोका काठमाडौंमा प्रतिकिलो ६ सय रुपैयाँदेखि ६ सय ८० रुपैयाँमा बिक्री भइरहेको विभागका महानिर्देशक वंशी शर्माले बताए।
‘किसानबाट प्रतिकिलो साढे ३ सय देखि साढे ४ सय रुपैयाँमा खरिद गरिएको जिउँदो खसी उपभोक्ताले तयारी मासु खरिद गर्दा १३ सयदेखि १५ सय रुपैयाँमा तिरेको गुनासो छ,’ महानिर्देशक शर्माले भने, ‘उपभोक्ताले तिर्नु परेको तयारी मासुको मूल्य स्वभाविक र न्यायोचित देखिदैन।’
चौपाया व्यवसायी संघ कलंकीका निवर्तमान अध्यक्ष दिपक थापाले पनि किसानले मूल्य नपाएको स्वीकार गरे। ‘अहिलेको सन्दर्भमा किसानले खसीको मूल्य पाएका छैनन। तर, किसानको पहुँचमा व्यवसायीसँगै राज्य पनि पुग्न सकेन,’ थापाले भने, ‘जसले गर्दा समस्या भएको हो।’