महँगियाे भान्सा: काठमाडौंमा एक मुठा रायोलाई ७० रुपैयाँ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

महँगियाे भान्सा: काठमाडौंमा एक मुठा रायोलाई ७० रुपैयाँ

induction chulo

काठमाडौं । केही दिनयता काठमाडौंवासीको भान्सा महँगो बन्दै गएको छ । बजारमा तरकारी किनेर खान काठमाडौंवासीलाई हम्मे पर्न थालेको छ ।
तरकारीको मूल्य थोक बजारमै महँगो हुँदा उपभोक्ताले खुद्रा पसलबाट किनेर खान धौधौ पर्ने बेला आइसकेको छ । दिनप्रतिदिन व्यपारीहरूले नियमित भान्सामा प्रयोग हुने तरकारीको मूल्यमा वृद्धि गर्दा सर्वसाधारण मारमा परेका छन् । सामान्य हरियो सागपात किनेर खानभन्दा मासु किनेर खान सस्तो पर्ने भन्दै उपभोक्ताले गुनासो गर्दै आएका छन् । 

कालिमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकिलो एक सय ५० रुपैयाँ तोकिएकोमा सर्वसाधारणले प्रतिकिलो दुई सय ५० रुपैयाँसम्म तिर्न बाध्य भएको उपत्यकावासी बताउँछन् । उपभोक्ता तथा पूर्व परराष्ट्रमन्त्री देवेन्द्र पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक सय ५० रुपैयाँ तिरेर दुई मुठा साग, ल आयो है दशैैं ।’ उपभोक्ता भन्छन् बजार अनुगमनमा कमी भएकाले व्यापारीले चरम लापरबाही गर्न थालेका छन् । 

वाणिज्यको क्षेत्र धेरै भएकाले व्यापारीले आँखा छल्दा नियन्त्रण गर्न सम्भव नभएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईं बताउँछन् । उनी भन्छन्, ‘कसैले कानुन विपरित बढी मूल्य लिएर ठग्ने प्रयास गरेमा कानुनबमोजिम कारबाही अघि बढाउँछौँ । हामीले हेर्न त हेरिरहेका छौँ । हामीले गर्ने काममा कुनै कमी ल्याएका छैनौँ, तर तरकारीको मूल्य बढ्नुमा बिचौलियाको पनि हात धेरै हुन्छ ।’ उनले यस विषयमा कृषि मन्त्रालयको पनि ध्यानाकर्षण गराए ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार मंगलबार पालुंगो प्रतिकिलो दुई सय रुपैयाँ मूल्य तोकिएको छ । त्यसैगरी, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ तोकिएको छ । कालिमाटीमै महँगो भएको तरकारी उपभोक्तासम्म आइपुग्दासम्म झन्डै दोब्बरले वृद्धि हुन्छ । 

साताको तेस्रो दिन मंगलबार कुरिलोको भाउमा वृद्धि भएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार एकैदिनमा कुरिलोको मूल्य एक सय रुपैयाँले बढेको छ । सोमबार प्रतिकिलो आठ सय रुपैयाँमा कारोबार भएकमा आज एक सय रुपैयाँले मूल्य वृद्धि हुँदा प्रतिकिलो नौ सय रुपैयाँ कायम भएको बजार विकास समितिले जनाएको छ । 

त्यस्तै, मंगलबार कााउलीको मूल्य भने १० रुपैयाँले घटेको छ । तथ्यांकअनुसार सोमबार प्रतिकिलो अधिकतम एक सय रुपैयाँमा कारोबार भएकोमा आज घटेर अधिकतम प्रतिकिलो ९० रुपैयाँ कायम भएको हो । आज सानो गोलभेँडाको मूल्य अधिकतम ४० रुपैयाँ र न्यूनतम ३३ रुपैयाँमा कारोबार भएको छ । 

मंगलबार कागतीको मूल्य भने वृद्धि भएको छ । सोमबार प्रतिकिलो एक सय ८० रुपैयाँमा कारोबार भएकोमा आज ७० रुपैयाँको वृद्धि भएर कागतीको मूल्य दुई सय २५ रुपैयाँ कायम भएको तरकारी बजार विकास समितिले जनाएको छ । कालीमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);