मदन विक
बाजुरा, १ असोज । अछामको साँफे बगरदेखि बाजुरा सदरमुकाम मार्तडी पुग्ने सडक खण्ड अबरुद्ध भएको छ । ठाउँठाउँमा झरेको पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको हो ।
५७ किलोमिटरको यो सडकमा बार्जुगाढ खोलादेखि मार्तडीसम्मको २९ किलोमिटर खण्ड ठाउँठाउँमा पहिरोले भत्किएपछि अवरुद्ध भएको हो ।
कालोपत्रे गरेको दुई वर्ष भइसक्दासमेत साँफे–मार्तडी सडकको अवस्थामा सुधार नहुँदा यहाँका स्थानीयहरु तथा सवारी चालकहरु ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य छन् ।
सडक छेउछाउबाट पहिरो खस्ने क्रम नरोकिएपछि हरेक वर्षायाममा समस्या हुने गरेको स्थानीयहरुले बताएका छन् । निरन्तर वर्षातकै कारण जिल्लाका ग्रामिण सडकहरु समेत ३ महिना देखि अवरुद्ध छन् ।
५७ किलोमिटर मध्ये २८ किलोमिटर सडक पहिलो चरण र २९ किलोमिटर दोस्रो चरणमा कालोपत्रे गरिएको थियो । दोस्रो चरणमा गरिएको बार्जुगाडदेखि सदरमुकम मार्तडीसम्मको २९ किलोमिटर सडकमा बढी समस्या देखिएको छ ।
वर्षातमा साँफे–मार्तडी सडक प्रत्येक दिनजसो अवरुद्ध हुने गरेको छ । बूढीगङ्गा नगरपालिका–१ को द्ववारी नजिकै गएको पहिरोले अहिले जिल्ला सदरमुकाम मार्तडीसम्म बस सेवा अवरुद्ध छ ।
प्रहरी, स्थानीयवासी, व्यवसायी मिलेर प्रत्येक दिन सडक बनाउने गरेका छन् । बाजुराका जिल्ला प्रमुख अधिकारी गंगाप्रसाद न्यौपानेले भने अवरुद्ध सडकहरु खुलाउन आफुहरु तत्पर भएर लागेको बताउनु भयो ।
साँफे–मार्तडी सडकको रुट नै नदीको किनारा र पहाडको फेदीमै भएकाले पहिरोको उच्च जोखिम रहेको सडक डिभिजन कार्यालय साँफेले जनाएको छ । अहिले पानी परिरहेकाले सडकमा काम गर्न समस्या भएको र दशैँ अगाडि नै सदरमुकाम सम्म बससेवा चल्ने गरी सडक मर्मत गरिने पनि डिभिजन कार्यालय साँफेले जनाएको छ ।