प्रकाश नेपाल
पाल्पा, २९ भदौ । पाल्पामा स्थानीय तहले अपाङ्गता भएकाको पहिचान गरी परिचय पत्र बाड्न थालेको छ । महिला तथा वालवालिका मन्त्रालय अन्तर्गत महिला तथा बालबालिका कार्यलयले दिएकोे परिचय पत्र पाल्पाको स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिलाई वितरण गरेको हो ।
पाल्पाका स्थानीय तहले जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको छ । जिल्लामा रहेका १० स्थानीय सरकार मध्ये ५ वटा स्थानीय सरकारले आ–आफ्ना क्षेत्रमा अपाङ्गता भएकालाई परिचय पत्र वितरण गरिसकेका छन् । जिल्लाका स्थानीय सरकारसंग समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको हो ।
पहिचान र वर्गीकरण गरी राज्यबाट प्राप्त हुने सेवा सुविधाका विषयमा समन्वय पुर्नस्थापना जस्ता कार्यमा सहजीकरण गर्दै परिचय पत्र वितरण गरिएको हो ।
बिगतमा सदरमुकाम पुगेर लिनु पर्ने बाध्यताले गर्दा कतिले परिचय पत्र पाउन सकेका थिएनन् । राज्यको मूल प्रवाहमा समेटिन नसक्दा उनीहरु विभिन्न अवसर तथा सुविधाहरुबाट बञ्चित हुँदै आएका थिए ।
आगामी दिनमा त्यस्ता व्यक्तिलाई लक्षित गरी नीति तथा कार्यक्रम निर्माण गर्न सहज होस् भन्ने उद्देश्यले स्थानीय सरकारले परिचय पत्र वितरण थालेका हुन् । अपाङ्गताका प्रकार हेरी चार किसिमका परिचय पत्र वितरण गरिएको रैनादेवी गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनुभयो ।
नेपाल सरकारले अपाङ्गतालाई १० प्रकारमा बर्गीकरण गरेको छ । पाल्पामा शारीरिक अपाङ्गता र बोलीमा समस्या भएकाको तुलनामा सुस्त मनस्थिति र दृष्टिविहिनहरुको संख्या धेरै भएको सिविआरका कार्यक्रम संयोजक कृष्ण गहतराजले बताउनु भयो ।
उहाँका अनुसार अघिल्लो तथ्याङ्कमा ४ हजार ७ सय जना अपाङ्गता भएकाहरु थिए भने अहिलेको तथ्याङ्कमा ६ हजार नाघ्ने छ । अपाङ्गता भएकाहरुलाई सहज जिवनशैलीका लागि परिचय पत्र वितरण गरी सहयोग गर्नु पर्छ नै । तर यस्तो सहयोग मात्र नभई अवसरको वातावरण सिर्जना गर्न पनि आवश्यक छ ।