महोत्तरी, २८ भदौ । महोत्तरीको एकडारा गाउँपालिका– २ स्थित धान खेतमा शनिबार घाँटी थिचेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार राजकिशोर बैठाका छोरा अन्दाजी वर्ष १७/१८ को विकेश बैठाको हत्या गरिएको अवस्थामा धान खेतमा शव फेला परेको प्रहरीले जनाएको छ ।
बैठाको हत्या गरी फालिएको अवस्थामा शनिबार बिहान करीब ९ बजेतिर वनमा घाँस काट्न गएका महिलाले देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।
बेला गाउँदेखि भङ्गहिया गाउँ जाने बाटोमा पर्ने फेकन महासेठको धान खेतको बीचमा शव फेला परेको हो । मृत बैठा हिजो साँझदेखि सम्पर्क बिहीन रहेको मृतकका आफन्तले बताएका छन् । प्रहरीले युवकको शवको स्थलगत मुचुल्का तयारी गरी शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको छ ।