लुम्बिनीको सिद्धार्थनगरमा फोहोर व्यवस्थापनको समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लुम्बिनीको सिद्धार्थनगरमा फोहोर व्यवस्थापनको समस्या

विवेक विश्वकर्मा
रुपन्देही, २८ भदौ । लुम्बिनीको प्रवेशद्धारको रुपमा रहेको सिद्धार्थनगर नगरपालिका फोहोर ब्यवस्थापनमै समस्या देखिएको छ । एशियाली विकास बैंकको ३२ करोडको लगानी अलपत्र परेपछि नगरपालिकालाई फोहोर व्यवस्थापनमा समस्या बढेको हो ।

नगरपालिकाले फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्न असफल भएपछि यो समस्या आएको हो । एशियाली विकास बैंकले सिद्धार्थनगर नगरपालिकामा एकीकृत शहरी विकास कार्यक्रम अन्तर्गत फोहोरमैला ब्यवस्थापनमा ३२ करोड लगानी गरेको छ ।

प्रशोधन केन्द्र निर्माणका लागि ठेक्का सम्झौता समेत गरी सकेको छ । तर स्थानीयलाई प्रशोधन केन्द्रबारे बुझाउन नसक्दा त्यो योजना नै अलपत्र परेको छ । अन्ततः रुपन्देहीको ओमसतिया गाउँपालिकामा रहेको फोहोरमैला प्रशोधन केन्द्र नबन्ने निश्चित जस्तै भएको छ ।

एकिकृत शहरी बिकास आयोजना हुँदै हाल क्षेत्रिय शहरी विकास आयोजनाको रुपमा रहेको सिद्धार्थनगर नगरपालिका अहिले फोहोर ब्यवस्थापनमा अयोग्य देखिएको छ । क्षेत्रिय शहरी बिकास आयोजनाका आयोजना प्रमुख शैलेन्द्र श्रेष्ठले पनि स्थानीयलाई फोहोरमैला ब्यवस्थापन केन्द्रको बारेमा बुझाउन नसक्दा आयोजना सफल हुन नसकेको बताउनु भयो।

सिद्धार्थनगर नगरपालिकाबाट निष्कासित हुने फोहोर अहिले नेपाल भारतको सीमा दशगजा नजिकै फालिने गरेको छ । स्थानिय डण्डा खोलाको छेउमै फालिएको फोहोरको कारण खोलाको जैविकता पनि गुम्दै गएको छ । बस्ती नजिक र भारतीय सीमाको छेउमै रहेको कारण कुन दिन यहाँ फोहोर फाल्न रोकिने हो त्यो पनि निश्चित छैन ।

अहिले सिद्धार्थनगर नगरपालिकाले शहरमा ट्रयाक्टरबाट घरायसी फोहोर संकलन गरे पनि यसको ब्यवस्थापनमा ठूलो चुनौती देखिएको नगर प्रमुख हरि प्रसाद अधिकारीको भनाई छ ।

एशियाली बिकास बैंकको सहयोगमा चिटिक्क बनेको भैरहवा अहिले फोहोर ब्यवस्थापन समस्याले आक्रान्त छ । लुम्बिनीका प्रवेशद्धारको रुपमा रहेको यस नगरको दिगो सरसफाईको योजना बनाउनु अपरिहार्य देखिएको छ ।

तर स्थानीयसँग सहाकार्य र समन्वय नहुँदा करोडौंको लगानी जुट्दा पनि नगरिको मुहार फेर्न सिद्धार्थनगर नगरपालिकालाई कठिन भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);