गौरा पर्वमा गाइने परम्परागत गीतको मौलिकता हराउँदै | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

गौरा पर्वमा गाइने परम्परागत गीतको मौलिकता हराउँदै

विमल जैरु
डडेल्धुरा, १४ भदौ । सुदूरपश्चिममा भाद्र शुक्ल पञ्चमीदेखि एकहप्तासम्म गौरा पर्व मनाइने गरिन्छ । सुदूरपश्चिमको महान् चाडहरुमध्ये एक गौरापर्वमा पुजाआजा गरी परम्परागत मौलिक गीत गाउने प्रचलन रहेको छ ।

तर पछिल्लो समय गौरामा गाइने परम्परागत गीतको मौलिकता हराउँदै जान थालेको छ । समयमा आएको परिवर्तनसंगै गौरामा गाइने गीतहरुलाई पनि आधुनिकताले छोएको छ । जसले यसको मौलिकतामा ह्रास ल्याएको छ ।

यस पर्वमा गाईने परम्परागत गीत बालो नाच, गौरा नाच, फाग, चैत धुमारी, ठाडो खेल, गोरया कथा धुमारी गीत गाईने भएपनि आजभोलि गौरा पर्वमा गाईने गीत देउडा खेल नै फरक भएको स्थानीय पदम भट्ट बताउँछन् ।

वैदिककालमा हैहयवंशीका दानवको अत्याचारबाट भुगुवंशीका व्राह्मणीहरुको अस्तित्व सुरक्षा गर्ने देवी उमा गौरीको आराधनाको प्रभावले संकट पार गरेको भन्ने जनश्रुति अनुसार यो पर्व मनाईने गरेको बताईन्छ ।

यस पर्वमा भगवान शिवलाई महेश्वर र माता पार्वतीलाई गौराको रुपमा पुजा गर्ने गरिन्छ । गाउँघरमा कुनै कुनै युवा पुस्ताहरुले चैत धुमारी, फाग, बालो नाच, ठाडो खेल खेल्ने गरेपनि गौराका परम्परागत गीतको मौलिकता हराउन थालेको छ ।

यसै अवसरमा राधा कृष्ण मन्दिर विकास समितिले डडेल्धुरा सदरमुकाममा राष्ट्रिय गौरा महोत्सव आयोजना गरेको छ । विगतका वर्षझै यस वर्ष पनि स्थानीय कला संस्कृतिको सम्मान र युवापिँढीमा हस्तान्तरण गर्ने उद्देश्यले कला संस्कृतिलाई प्रतिस्पर्धात्मक रुपमा प्रतियोगिता राखी आयोजकको भनाई छ ।

सामान्यतया देवताको गुणगान तथा सुखदुख बाँड्न खेलिने देउडामा अहिले अश्लीलता हावी भएको पाइन्छ । सुदूपश्चिमको मुख्य संस्कृतिका रुपमा भगवान तथा राजा महाजन, शक्तिशाली ठानिएका चर्चित व्यक्तिहरुका गाथा भन्दै चैत धुमारीमा स्थानीय बाजागाजा ढोल, डमरु, दमाह, रुईसिंग, बिनै, बाँसुरीको धुनमा रमाउने परम्परा युवा पुस्तामा भने छाउन नसकेकोप्रति स्थानीय अगुवा तथा वृद्ध निरास छन् ।

ताजा समाचार