काठमाडौं, १३ भदौ । प्रतिनिधिसभाले विज्ञापनरहित प्रसारण (क्लिन फिड) सम्बन्धी प्रावधानसहितको विज्ञापन नियमन गर्न बनेको विधेयक बिहीबार पारित गरेको छ । विधेयक पारित भएपछि विज्ञापन नियमनसम्बन्धी कानुन पहिलो पटक बन्ने निश्चित भएको छ ।
विधेयकमा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले तत्काल विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने प्रावधान छ । तर यो ऐन लागू हुँदा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण सम्झौता गरिसकेका संस्थाहरूले एक वर्षपछि मात्र यस्तो क्लिनफिड प्रसारण गर्नुपर्नेछ । त्यस्तो सम्झौता नगरेका संस्थाले भने एक वर्षको समय पाउनेछैनन् । उनीहरूले कानुन लागू भएकै दिनबाट विज्ञापनरहित कार्यक्रम प्रसारण गर्नुपर्छ ।
राष्ट्रियसभाले पठाएको सुझावसहितको प्रतिवेदनमाथि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा छलफल गरी उक्त विधेयक प्रतिनिधिसभामा पेस गरिएको थियो । विधेयकमा नेपालका सञ्चारमाध्यमले विदेशी च्यानलको विज्ञापन डबिङ गरेर प्रसारण गर्न नपाउने उल्लेख छ । क्लिन फिडको प्रावधान लागू गर्न नेपाल विज्ञापन संघले माग गर्दै आएको थियो ।
विज्ञापन र मार्केटिङका सरोकारवालाले पनि सरकारले लागू गर्न खोजेका यो व्यवस्थालाई सकारात्मक भनेका छन् । विज्ञापन र सञ्चारविज्ञहरूले भने क्लिन फिड लागू गर्न राष्ट्रिय प्रसारण ऐन बन्नुपर्नेमा जोड दिँदै आएका छन् । सरकारले वस्तुको प्रवर्द्धन, वितरण र सेवा प्रसारणका लागि यो विधेयक ल्याएको हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।