नेकपा संसदीय दलको कार्यालय एउटै हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा संसदीय दलको कार्यालय एउटै हुने

nekapa

काठमाडौं, १२ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको १४ महिनापछि संसदीय दलको कार्यालय एकै ठाउँमा हुने भएको छ । हालसम्म सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालय दुई ठाउँमा छन् ।

एकीकृत भएका तत्कालीन नेकपा ( एमाले) र नेकपा (माओवादी केन्द्र)का संसदीय दलको कार्यालय हालसम्म आ–आफ्नै ठाउँमा छन् । अब ती कार्यालयलाई एकै ठाउँमा ल्याउने तयारी भइरहेको नेकपा संसदीय सचिवालयले जनाएको छ ।

हालसम्म दुई दलबाट बनेका सङ्घीय सांसदहरूको कामकारबाही साबिकको संसदीय दलको कार्यालयबाट भइरहेको छ । एउटा दलको सांसद अर्को संसदीय दलको कार्यालयमा पनि जाँदैनन् । दुवै दलका सांसदको पिजन हल पनि साबिककै संसदीय दलको कार्यालयमा छन् । यसले संसद् भवनबाहेक संसदीय दलको कार्यालयमा एक अर्कासँग भेट पनि हुँदैन । तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपाको संसदीय कार्यालय राख्ने तयारी सुरु भएको छ ।

त्यसका लागि लिफ्ट लगाउने काम सकिएको छ भने अन्य काम भइरहेको नेकपाको संसदीय दलमा कार्यरत कर्मचारी जङ्गबहादुर मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला तत्कालीन एमालेको संसदीय दलको कार्यालयमा नै नेकपाको संसदीय दलको कार्यालय राख्ने तयारी भइरहेको थियो तर त्यहाँ कोठा अपुग भएपछि यतातिर सुरु गरिएको हो । ”चौथो तलामा रहेको संसदीय दलको कार्यालयमा दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आउजाउ गर्न समस्या हुने भएकाले सुरुमै लिफ्ट राख्ने काम गरिएको उहाँले जानकारी दिनुभयो ।

नेकपा संसदीय दलको कार्यालय दुईवटा तलामा रहने छन् । पाँचौँ तलामा रहेको समाजवादी फोरम नेपालको संसदीय दलको कार्यालय, विधायन समिति, प्रत्यायोजित व्यवस्थपान तथा सरकारी आश्वासन समितिलाई अन्यत्र सारेर नेकपाको संसदीय दलको कार्यालय व्यवस्थापन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । तत्कालीन एमालेको संसदीय दलको कार्यालयमा संसदीय दलको नेता, उपनेता, सचेतक, राष्ट्रिय सभाका प्रमुख सचेतकको कार्यकक्ष रहेका छन् भने तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रमुख सचेतक र राष्ट्रिय सभा दलको नेताको कार्यकक्ष रहेको छ ।

संसदीय दलको नेता एवं प्रधानमन्त्री केपी शर्मा, उपनेता सुवासचन्द्र नेम्वाङको कार्यकक्ष तत्कालीन एमालेको संसदीय दलको कार्यालयमा रहेको हुनाले अधिकृतसहितको कर्मचारी त्यहाँ राखिएको मगरले बताउनुभयो । काम सुरु भइरहेको छ, दशैँ–तिहारपछि मात्र कार्यालय सार्ने काम हुने उहाँले बताउनुभयो । ठाउँ अभावका कारण नेकपाको संसदीय दलको बैठक सिंहदरबारमा बस्न सकेको छैन । दलको बैठक प्रधानमन्त्री निवास वा बानेश्वरस्थित प्रतिनिधि सभा भवनमा बस्ने गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);