विद्युत् प्राधिकरणको नाफा १४९ प्रतिशत | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

विद्युत् प्राधिकरणको नाफा १४९ प्रतिशत

bijuli

काठमाडौं, २९ साउन । नेपाल विद्युत् प्राधिकरणले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १४९ प्रतिशतले नाफा बढाएको छ । आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले खुद मुनाफा सात अर्ब २० करोड रुपियाँ पु¥याएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा प्राधिकरणको नाफा दुई अर्ब ८९ करोड ७० लाख रुपियाँ थियो ।

निरन्तर घाटामा रहँदै आएको प्राधिकरण आर्थिक वर्ष २०७२÷७३ मा आठ अर्ब ८९ करोड रुपियाँ घाटामा थियो । त्यसपछिका वर्षमा भने प्राधिकरण निरन्तर नाफामा रहँदै आएको छ । प्राधिकरणले आव २०७३÷७४ मा एक अर्ब ५० करोड रुपियाँ नाफा गरेको थियो । विद्युत् चुहावटमा आएको उल्लेख्य कमी, विद्युत् उत्पादनमा वृद्धि, व्यवस्थापनमा निरन्तर सुधार लगायतका कारण नाफा प्रभावकारी रूपमा वृद्धि भएको प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहनुभएका मन्त्री पुनले पत्रकार सम्मेलनमार्पmत विद्युत् चुहावट १५.३२ प्रतिशतमा सीमित गरिएको जानकारी गराउनुभयो । यसअघि यस्तो चुहावट २०.४५ प्रतिशत थियो । आव २०७२÷७३ मा चुहावट प्रतिशत २५.७८ थियो । यसअनुसार चुहावट नियन्त्रण पछिल्लो एक वर्षमै पाँच दशमलव १३ प्रतिशत र तीन वर्षमा १०.४६ प्रतिशतले घटाउन प्राधिकरण सफल देखिएको छ ।

सोही अवसरमा प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावटस्तर दक्षिण एसियाली मापदण्डमा झारिएको जानकारी गराउनुभयो । “वितरणतर्फको चुहावट ११ प्रतिशत र प्राविधिकतर्फको करिब चार प्रतिशत चुहावट छ,” उहाँले थप्नुभयो, “विद्युत् चुहावटमा दक्षिण एसियाको मापदण्डमा पुगेका छौँ, अब धेरै प्राविधिक चुहावट नियन्त्रणमा ध्यान केन्द्रित गर्नुपर्ने छ तर यसका लागि थप लगानी आवश्यक पर्छ । ”

मुनाफा बढाउँदै गएको प्राधिकरणले गत आर्थिक वर्षमा रोयल्टी र ऋणको ब्याज गरी करिब १५ अर्ब ५९ करोड रुपियाँ सरकारलाई बुझाएको छ । यसमध्ये ब्याजमात्रै १३ अर्ब १६ करोड रुपियाँ छ । प्राधिकरणको प्रगतिको प्रशंसा गर्दै मन्त्री पुनले आगामी दिनमा विद्युत् उत्पादन तथा आपूर्तिमा फड्को मारिने दाबी गर्नुभयो ।

“अब विद्युत्को खपत र आपूर्ति बृहत् रूपमा बढाउने गृहकार्यमा हामी लागेका छाँै,” उहाँले थप्नुभयो, “देशभित्रै विद्युत् विस्तार र बाह्य व्यापारमा पनि उल्लेख्य उपलब्धि हासिल गर्ने गरी योजना कार्यान्वयन हुँदैछन् । ”

एक वर्षभित्र प्रणालीमा थपिने एक हजार मेगावाट विद्युत् खपत गर्न पेट्रोल, डिजेल, खाना पकाउने ग्यासजस्ता अन्य स्रोतलाई विस्थापित गर्ने लगायतका योजनालाई अगाडि बढाइने छ । मन्त्री पुनले सार्वजनिक गरेको विवरणअनुसार गत आवमा मात्रै ७५७ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको छ भने छ हजार पाँच सय नयाँ ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्तिमा सुधार गरिएको छ ।

ग्रिडमा आबद्ध उपभोक्ताको सङ्ख्या करिब ४५ लाख पुगेको छ । जुन कुल जनसङ्ख्याको ७८ प्रतिशत हुन आउँछ । गत आवमा मात्रै १० प्रतिशत उपभोक्ता थपिएको जनाइएको छ । गत अवमा प्राधिकरणले स्वदेशी निजी उत्पादकबाट १४ अर्ब १३ करोड रुपियाँको दुई अर्ब १९ करोड युनिट र भारतबाट २३ अर्ब तीन करोड रुपियाँको दुई अर्ब ८१ करोड युनिट विद्युत् खरिद गरेको जनाएको छ । प्राधिकरणको आफ्नै उत्पादन भने सो वर्ष दुई अर्ब ५५ करोड युनिट रहेको छ । यो अवधिमा प्राधिकरणले ३२ करोड रुपियाँको विद्युत् निर्यातसमेत गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चालू आवमा करिब सात हजार नयाँ ट्रान्सफर्मर जडान गरी वितरण प्रणालीलाई दिगो बनाउन लागिएको जानकारी दिनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आगामी मनसुनसम्ममा विद्युत् उत्पादन करिब दोब्बर हुने अवस्थामा उत्पादित बिजुलीको बजारीकरण पनि चुनौतीपूर्ण रहेको बताउनुभयो । “आन्तरिक खपत विस्तार र विदेश निर्यातका लागि नीतिगत तथा पूर्वाधार निर्माण कार्यलाई हामीले तीव्रता दिएका छाँै,” उहाँले थप्नुभयो, “उत्पादित बिजुली खेर जाने अवस्था आउने छैन । ”
प्राधिकरणको प्रगति विवरणमा दसक लामो समयदेखि रुग्ण अवस्थामा रहेका ३८ विभिन्न आयोजना यही वर्ष सम्पन्न गर्न सकिएको र १३ वटाको पुनः ठेक्का प्रक्रिया सुरु गरिएको उल्लेख छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);