काठमाडौं, २६ साउन । सांसदहरुले प्रतिनिधिसभा बैठकको शुन्य र विशेष समयमा उठाइएका विषयमा चासो नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आईतबारको बैठकको शुन्य समयमा सांसद गगन कुमार थापाले शुन्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धीत मन्त्रीले ५ दिन भित्र सदनमा उपस्थित भई जानकारी गराउनुपर्ने व्यवस्था नियमावलि कार्यान्वयन गर्न सभामुखको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
सांसद अमृता देवी अग्रहरिले कपिलवस्तुमा किसानले खेतीका लागि मल र पानीको ठुलो अभाव झेल्नु परिरहेको भन्दै मल र सिंचाईको तत्काल व्यवस्था गर्न माग गर्नुभयो । उहाँले यसबारे पटक पटक कुरा उठाउदै आएको भए पनि सरकारले वेवास्ता गरेको गुनासो गर्नुभयो ।सांसद गणेश कुमार पहाडीले मध्यपहाडी लोकमार्ग अन्र्तगत सिन्धुलीको खुर्कोट घुर्मी सडकखण्डमा दोहोरो यातायात संञ्चालनको लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी सांसद कृष्णभक्त पोखरेलले सर्वसाधरण लगायत इच्छुक जनतालाई संघीय संसद भवन भित्र निर्वाध प्रवेश गर्ने वातावरण बनाउन सभामुखको ध्यानाकर्षण गराउनुभयो ।