धादिङ, २५ साउन । समिम मियाँ अन्सारी (तस्बिरका) बिहीबार साँझ ना६ख ७४६९ सृष्टि डिलक्स चढेर व्यापारका सामान खरिद गर्न काठमाडौं जाँदै थिए । उनी सर्लाहीको मलंगवा–३ का स्थानीय व्यापारी हुन् । सदरमुकाम मलंगवाबाट ४० यात्रु बोकेर छुटेको गाडीमा हरिपुर नगरपालिकाबाट दुई यात्रु थपिए ।
१४ किमि वर हरिवनसम्म सवारीधनीले नै बस चलाए । हरिवनस्थित पेट्रोलपम्पमा तेल हालेपछि भने चालक जीवन विकले हाँक्न थाले । ‘बिहानीपख बसतीव्र गतिमा गुडिरहेको थियो, सायद म मस्त निदाएको थिएँ क्यारे,’ समिमले त्यो क्षण सम्झिए, ‘एक्कासि
गड्याङगुडुङ आवाज आयो । के भयो, केही मेसो पाइनँ । आँखा खुल्दा पानीमा डुबिरहेको थिएँ । बसबाट बाहिर उछिट्टिसकेको रहेछु ।’
बसधनीले पालो दिएको हरिवनबाट दुर्घटनास्थल धादिङको बेनीघाटसम्मको दूरी करिब २५१ किलोमिटरसम्म चालक एक्लैले हाँकेका थिए । कन्डक्टर मृतक उप्रेतीले पनि बीचमा यदाकदा चालकको सिटमा बसेर चलाउने/सिक्ने प्रयास गरेका थिए । सडक सजिलै भएको स्थानमा दुर्घटना भएकाले बिहानीपखको शीतलतामा चालक निदाएको हुन सक्ने अनुमान घाइतेहरूले गरेको निरीक्षक भट्टले बताए ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




