पाइलैपिच्छे भेदभाव र छुवाछुत भोग्न बाध्य, डोम समुदाय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पाइलैपिच्छे भेदभाव र छुवाछुत भोग्न बाध्य, डोम समुदाय

dom samudaye

सिरहा, २५ साउन ।  सिरहा नगरपालिका १९ सन्हैठा गाउँका ५० वर्षीय रामनाथ मल्लिक (डोम) बिहीबार बिहान नजिकैको चोकमा चिया खान गए । उनले चिया मागे । पसलेले उनलाई अरू सेवाग्राहीसँगै बेन्चमा बस्न दिएनन् । चिया प्लास्टिक कपमा दिए । रामनाथ भुइँमै बसेर चिया खाएर घर फर्के । त्यही पसलमा अन्य दलित समुदायलाई सिसा ग्लासमा चिया दिइन्छ । बेन्चमै बस्न दिइन्छ । तर, डोमले बस्न र प्लास्टिक ग्लासमा पाउँदैनन् ।

अर्नामा गाउँपालिका–५ कृष्णपुरका सुनिता र उदगार मल्लिकका छोराछोरी कृष्ण, अर्जनु र रिमा घरनजिकैको श्री आधारभूत विद्यालयमा पढ्छन् । विद्यालयमा खाजा अरुसँगै खुवाइँदैन । प्लटे बेग्लै छ । उनीहरु सधैं एउटै प्लटेमा खान्छन् । त्यहाँ डोमबाहेक दलित र गैरदलितका छोराछोरी खाजा सँगै खान्छन् । एकअर्कोले खाएको प्लेटमा अर्को दिन खाजा खान्छन् । अचेल सुनिता र उदगार बेग्लै खाजा खुवाए पढ्नै नजाने भन्न थालेका छन् ।

लहान नगरपालिका–१० की मीना मल्लिकलाई साउन १ गते छिमेकीले कुटपिट गरे । निहुँ थियो सुँगुरले भाँडो छोएको । पाँच दिन अस्पतालमा बसेपछि उनी निवेदन लिएर प्रहरी चौकी पुगिन् । चौकीले मिलापत्र गर्न भन्यो । उनी निराश भएर घर फर्किन् । उनलाई उपचार खर्चबापत २५ सय रुपैयाँ दिएर घटना सामसुम पारियो ।

डोम समुदायमा दिनहुँ यस्ता घटना भइरहेका छन् । उनीहरू घरबाहिर पाइला टेक्नेबित्तिकै भेदभाव र छुवाछुत भोग्न बाध्य छन् । देशमा कानुन, व्यवस्था र सत्ता बदलिए पनि उनीहरूको पीडा बदलिएको छैन ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);