निजगढ विमानस्थल विश्वकै सानदार बन्ने, शिलान्यास छ महिनाभित्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निजगढ विमानस्थल विश्वकै सानदार बन्ने, शिलान्यास छ महिनाभित्र

nijgadh-airport

काठमाडौं, २३ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास यसै वर्ष गर्ने तयारी भएको जानकारी दिनुभएको छ ।

बुधबार मन्त्रालयमा पत्रकारसँगको छलफल कार्यक्रममा सन् २०१९ भित्रै कम्तीमा शिलान्यास गरिसक्ने उहाँले बताउनुभयो । सन् १९८५ देखि नै निजगढमा विमानस्थल निर्माण गर्ने चर्चा चले पनि काम हुन नसकेकाले अब भने यसको विकल्प नखोजिने उहाँको भनाइ थियो ।

“फास्ट ट्र्याक बनेपछि एक घन्टामै पुग्न सकिने भएकाले निजगढ एक किसिमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै हो,” उहाँले भन्नुभयो, “हामी निजगढको विकल्प खोज्दैनौँ । ” विमानस्थल निर्माणका लागि टाँगिया बस्ती व्यवस्थापन प्रक्रिया तत्काल अगाडि बढाउने पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँका स्थानीयलाई मुआब्जा दिएर अथवा स्थानीय सरकारसँगको साझेदारीमा बस्ती स्थानान्तरणको काम हुनेछ ।

“हामी त्यहाँका स्थानीयलाई नाङ्गो खुट्टा पठाउँदैनौँ,” उहाँले भन्नुभयो, “स्थानीयको सम्मानजनक व्यवस्थापन हुन्छ । ” कार्यक्रममा उहाँले आफू वातावरण विनाश र विध्वंस गर्न नआएको स्पष्ट पार्नुभयो । “म निजगढमा विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ,” उहाँले भन्नुभयो । निजगढमा रूख कटानका विषयमा व्यक्त भएका चासोलाई समेत सम्बोधन गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

निजगढमा विमानस्थल निर्माणका लागि कटान गर्नुपर्ने रूखको सम्बन्धमा अहिलेसम्म यकिन नभइसकेकाले यस विषयमा वन तथा वातावरण मन्त्रालयसँग सहकार्य गर्ने उहाँले बताउनुभयो । विमानस्थल निर्माणका सन्दर्भमा उठेका विषयलाई सम्बोधन गर्न आफूले प्रधानमन्त्रीसँग कुराकानी गरेर सर्वदलीय बैठकसमेत गर्न लागेको उहाँले जानकारी दिनुभयो । निजगढका सम्बन्धमा अब अध्ययन गर्नुपर्ने खास विषय नभएकाले यसको निर्माणको तयारीको काम अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);