दसैँको चहलपहल सुरु, ४० अर्ब नयाँ नोट, सुपथ पसलमा १० रुपैयाँसम्म छुट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौ, २३ भदौ । व्यवसायीले दसैँका लागि उपत्यकामा ४५ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने जनाएका छन् । चौपाया खरिद–बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले मागअनुसार ल्याउन आफूहरू तयार भएको बताए । हाल साप्ताहिक रूपमा पाँच हजार खसी, बोका आयात र खपत भइरहेको छ।

प्रतिकिलो पाँच सय स् हाल जिउँदो खसी, बोकाको मूल्य प्रतिकिलो ४५० रुपैयाँ छ । दशैँमा आयात बढाउनुपर्ने भएकाले मूल्य बढ्ने अध्यक्ष पाठकले बताए । हाल काटेको खसीको मासु प्रतिकिलो ८५० देखि ९ सयसम्म पर्छ । व्यवसायीले करिब ३ हजार च्याङ्ग्रा ल्याउने तयारी गरेका छन् । हाल प्रतिकिलो ७ सय छ। दसैँमा केही बढ्ने अनुमान छ।

एकजनालाई २७ हजारबराबरका नयाँ नोट
नेपाल राष्ट्र बैंकले दसैँमा प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकले आफ्ना आठवटा कार्यालय र सरकारी बैंकका १६ शाखामार्फत सुविधा दिनेछ । आगामी २८ भदौदेखि सर्वसाधारणले नयाँ नोट लिन सक्ने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए।

४० अर्ब नयाँ नोट साटिने

यस वर्ष करिब ४० अर्बको नयाँ नोट सटही हुने अनुमान गरिएको छ । उनका अनुसार अघिल्लो वर्ष करिब ३२ अर्ब नयाँ नोट सटही भएका थिए । राष्ट्र बैंकले ३ वर्षका लागि अनुमानित नयाँ नोट मौज्दात गर्ने गरेको छ । सोही मौज्दातबाट दसैँका वेलामा नयाँ नोट सटही सुविधा दिने गरेको छ।

बसको अग्रिम टिकट बुकिङ अनिश्चित
चाडपर्वमा घर जाने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ । सरकारले बिहीबारदेखि अग्रिम टिकट बुकिङ खुलाउने घोषणा गरे पनि व्यवसायीले असहयोग गरेपछि खुल्न सकेन । विभागले तोकिएको समयमा अग्रिम टिकट खुला नगरेको भन्दै व्यवसायीलाई जरिवाना गर्ने तयारी गरेको छ।

चाडपर्वलाई दैनिक सात हजारसम्म सवारी
नेपाल यातायात व्यवसायी महासंघका अनुसार यात्रुको चाप बढेपछि चाडपर्वको समयमा दैनिक सात हजारसम्म सवारीसाधन काठमाडौंबाट बाहिर जानेछन् । अन्य समयमा काठमाडौंबाट दैनिक बाहिरिने भाडाका सवारीसाधनको संख्या २८ सयदेखि तीन हजारसम्म रहेको छ।

हवाई टिकटमा चाप
आन्तरिक उडानमा दसैँलक्षित टिकट बुकिङ अत्यधिक रहेको वायुसेवा कम्पनीहरूले बताएका छन् । विशेषगरी घटस्थापनादेखि दशमीसम्मका सबैजसो टिकट बिक्री भइसकेको सिम्रिक एयरलाइन्सका बजार प्रबन्धक प्रज्वल थापाले बताए । उनका अनुसार नियमित उडानका टिकट सबैजसो बिक्री भएपछि वायुसेवा कम्पनीले माग हेरेर अतिरिक्त उडान थप्ने गर्छन् । सामान्यतः एक महिनाअघि नै टिकट होल्ड गरेर राख्ने प्रवृत्तिका कारण आन्तरिक उडानमा चाडबाड र पर्यटकीय मौसममा हवाई यात्रा कठिन हुने गरेको छ ।

सुपथ पसलमा १० रुपैयाँसम्म छुट
सरकारले १६ भदौदेखि उपत्यकाका ९ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । उपत्यकाबाहिर साल्ट टे«डिङ कर्पोरेसनका २२ कार्यालयमा समेत सुपथ पसल सञ्चालनमा आएका छन् । खाद्य संस्थानले पनि छुट मूल्यमा चामल, फापर बिक्री गरिरहेको छ। उपत्यका र बाहिर २२ वटा घुम्ती पसल सञ्चालनमा छन् । सुपथ पसलमा एउटा परिवारले चामल ३० किलो र नुन ६ किलो खरिद गर्न पाउने व्यवस्था गरिएको छ । नुनमा २ र चामलमा ५ रुपैयाँ तथा घिउ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट गरिएको छ।

उपत्यकाबाट बाहिरिने सबै नाका सुचारु
काठमाडौंबाट बाहिर जाने सबै राजमार्ग अहिले सुचारु छन् । कलंकी–नारायणघाट सडकका खाल्डाखुल्डी पुर्ने र सवारी आवतजावतलाई सहज बनाउने काम भइरहेको छ । मुग्लिङ-नारायणघाट खण्डमा सवारीसाधन सञ्चालन हुने समय वृद्धि गरेर यातायात सुचारु राख्ने तयारी भइरहेको छ । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);