गतवर्ष भन्दा यसवर्ष अख्तियारमा ५ हजार बढि मुद्दा दर्ता | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

गतवर्ष भन्दा यसवर्ष अख्तियारमा ५ हजार बढि मुद्दा दर्ता

काठमाडौं, ६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गर्ने क्रम वढेको छ । गत वर्षको तुलनामा यस वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करिब ५ हजार बढि मुद्धा दर्ता भएको आयोगले जनाएको छ ।

गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनियमितता सम्बन्धी १९ हजार ४ सय ८८ वटा मुद्धा दर्ता भएकोमा यस वर्ष २४ हजार ४८ वटा मुद्धा दर्ता भएका छन् । आयोगमा दर्ता भएका मुद्धा मध्ये एक चौथाई मुद्धा स्थानीय तहको रहेका छन् ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार एक वर्षको अवधिमा आयोगमा दर्ता भएका उजुरी मध्ये २४ हजार ४८ वटा उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका छन् । भ्रष्टाचार सम्बन्धी बढि मुद्धा दर्ता हुनेमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका कार्यलयहरु पहिलो स्थानमा रहेका छन् । त्यस्तै शिक्षा, भुमि प्रशासन, शैक्षिक प्रमाणपत्र, यातायात जस्ता प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यलयहरुको मुद्धा बढि पर्ने गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन २०७५ अनुसार नेपाल वढि भ्रष्टाचार हुने १ सय ८० मुलुक मध्ये १ सय २४ औँ स्थानमा रहेको छ । कानुन कार्यान्वयन फितलो हुँदा भ्रष्टाचार जनताको अपेक्षा अनुसार नियन्त्रण हुन नसकेको कानुन व्यवसायिहरुको ठहर छ ।

आयोगमा दर्ता भएका मुद्धा मध्ये गत वर्ष १ सय ९४ वटा मुद्धा विषेश अदालतमा दायर भएकोमा यस वर्ष ३ सय ५१ वटा दायर भएकोले भ्रष्टाचार न्युनिकरणमा आयोग क्रियाशिल रहेको आयोगको दावि छ । भ्रष्टाचार तथा अनियमितताका वारेमा सामाजिक सञ्जाल मार्फत आयोगलाई जानकारी दिन सर्वसाधारणमा आयोगले आग्रह समेत गरेको छ ।