संसदीय समितिद्धारा बाढी प्रभावित क्षेत्रको निरीक्षण | ईमाउण्टेन समाचार

Our Network

पुष १ २०८१, सोमबार

संसदीय समितिद्धारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

badi

काठमाडौं, ३ साउन । संसदीय समितिले बाढीको मारमा परेको काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको टोलीले शुक्रबार बल्खु खोलामा आएको बाढीको चपेटमा परेका काठमाडौंको कलंकी, बल्खु र कुलेश्वर क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।

बाढी आउनुको कारण पत्ता लगाई त्यसको दीर्घकालीन तथा तत्कालीन समस्या समाधानका लागि आवश्यक निर्देशन सरकारलाई दिन काठमाडौंको बाढी पीडित क्षेत्र कलंकी, बल्खु र कुलेश्वरको स्थलगत निरीक्षण गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिनु भयो।

उहाँले निरीक्षण अवलोकनका क्रममा पाइएको तथ्यांकको आधारमा आवश्यक राहतको व्यवस्था मिलाउन सरकारलाई पुनः सचेत गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

समितिले गत असार २७ गतेबाट सुरु भएको लगातारको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानको समस्या समाधानका लागि आवश्यक योजना तय गर्न प्रभावित क्षेत्रको सबै ठाउँमा स्थलगत निरीक्षण गर्ने योजना तय गरेको छ । त्यसै अनुसार काठमाडौंका पनि स्थलगत निरीक्षणको काम सुरु गरिएको सभापति श्रेष्ठले बताउनु भयो ।

निरीक्षणको क्रममा कुलेश्वर अपार्टमेन्ट सोसाईटीले आफूहरुको करिव १ करोड ५४ लाख बराबरको क्षति भएको विवरण समिति समक्ष पेश गरेको थियो । पीडित पक्षले संसदीय समितिलाई तत्कालका लागि खानेपानी र विद्युत आपूर्तिको व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरिदिन पनि आग्रह गरेका थिए ।

यता, समितिकी सभापति श्रेष्ठले सरकारलाई बाढी पीडितको उचित व्यवस्थाका लागि आवश्यक निर्देशन दिइएको र थप व्यवस्थाका लागि पनि सचेत गराउने प्रतिवद्धता पीडित समक्ष गर्नु भएको थियो ।

बाढी, पहिरो र डुबानबाट धेरैको जनधनको क्षति भएपछि सो समितिले उनीहरुको राहतको तत्काल व्यवस्था गर्न सरकारलाई यस अघि नै सचेत गराएको थियो । सभापति श्रेष्ठले यो समस्याको दीर्घकालीन समाधानका लागि पनि ठोस योजना बनाएर सरकारलाई आवश्यक निर्देशन दिने गरी डुबान, बाढी र पहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणको कामलाई सुरु गरिएको पनि स्पष्ट पार्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);