सिन्धुपाल्चोकस्थित मेलम्ची र त्यस क्षेत्रमा बाढी आउनुमा जलवायु परिवर्तन मुख्य कारण रहेको विज्ञहरुको ठम्याईं | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सिन्धुपाल्चोकस्थित मेलम्ची र त्यस क्षेत्रमा बाढी आउनुमा जलवायु परिवर्तन मुख्य कारण रहेको विज्ञहरुको ठम्याईं

एजेन्सी । विज्ञहरुले सिन्धुपाल्चोकस्थित मेलम्ची र त्यस वरपर क्षेत्रमा बाढी आउनुमा जलवायु परिवर्तन मुख्य कारण रहेको औंल्याएका छन् ।

मेलम्ची र त्यस वरपरको भौगर्भिक अवस्थाबारे अध्ययन गर्न गएका विज्ञहरुको टोलीले जलवायू परिवर्तनका कारण त्यस क्षेत्रमा विपद आईपरेको प्रारम्भिक निष्कर्ष निकालेका हुन् ।

भूगर्भविद् डा. राजनकुमार दाहालले तापक्रममा ह्वात्तै वृद्धि भएका कारण त्यस क्षेत्रमा बाढीको विपत्ति आईपरेको अनुसन्धानको क्रममा आफूले पाएको जानकारी दिनुभयो । उनले माईनस १२ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा जलवायु परिवर्तनका कारण ५ डिग्री सेल्सियस तापक्रम हुन जाँदा सो भूगोलमा पहिरो र बाढीको चपेटामा परेको स्पष्ट पारेका छन् ।

भूगर्भविद् दाहालले मेलम्ची र हेलम्बु क्षेत्रमा देखिएको समाधान तत्काल समाधान हुने अवस्थामा नरहेको भन्दै सचेत समेत गराउनु भयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले हालसम्मका ज्ञान, विज्ञान र स्थानीय अनुभवको आधारमा त्यस क्षेत्रको भूगोलको अध्ययन सुरु गरिएको बताए ।

कार्यक्रममा बोल्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आगामी हिउँद भित्र हेलम्बु र मेलम्चीको बाढीग्रस्त क्षेत्रमा सवारी साधन चल्ने गरी आवश्यक व्यवस्था मिलाउने दावी गर्दै निरास नहुन स्थानीयलाई आग्रह गरे ।

सरकारले मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीसहितको विपद् आउनुको कारणबारे अनुसन्धान गर्न विज्ञहरुको टोली गठन गरेको थियो । टोलीले स्थलगत अवलोकन गरी तयार पारेको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा तत्काल बाढी, पहिरोको समस्या समाधान हुने अवस्था नरहेको उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);