सचिवलाई आरोप लगाउँदा मन्त्री मातृका यादव आलोचित | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

सचिवलाई आरोप लगाउँदा मन्त्री मातृका यादव आलोचित

matrika yadav

सीता शर्मा
काठमाडौं, २४ असार । सचिवका कारण भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण गर्नुपर्ने निर्णय फिर्ता लिनु परेको बताएपछि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव विवादमा तानिएका छन् ।

मन्त्रालयका सचिवले आफुलाई गुमराहामा राखेको र फसाएको भन्ने मन्त्रीको अभिव्यक्तिप्रति अहिले बहस सुरु भएको छ । सचिवलाई आरोप लगाएर उम्किन खोजेको आरोप अहिले मन्त्रीमाथि लागेको छ । मन्त्रीको अभिव्यक्तिलाई लिएर पुर्व प्रशासकले पानीमाथिको ओभानो हुन खोजेको भनी टिप्पणी गरेका छन् ।

भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परिक्षण गर्ने निर्णय फिर्ता लिएपछि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव सत्तारुढ दलकै नेता, सरोकारवाला लगायत आमसर्वसाधारणबाट अहिले आलोचित बनेका छन् ।

मन्त्रालय आफैले गरेको निर्णय कार्यान्वयन गर्न नसकी भारतीयको दबाबमा निर्णय फिर्ता लिएको आरोप मन्त्रीमाथि छ । मन्त्रीका कारण अहिले सिंगो सरकारमाथि नै भारतप्रति लम्पसार परेको आरोप छ ।

मन्त्रालय आफैले गरेको निर्णय फिर्ता लिएर आलोचित बनेका मन्त्री यादवले सोमबार मन्त्रालयमै आयोजना गरिएको पत्रकार सम्मेलनमा सचिवहरुमाथि दोष लगाउँदै खन्निएका थिए ।

मन्त्री यादवले पूर्वाधार नै तयार नभएको ठाउँमा पनि काम गर्ने योजना सचिवहरुले बनाएको र आफुले सचिवको भर पर्दा यस्तो अवस्था आएको बताए । आफ्नो मन्त्रालयका सचिवलाईसंगै राखि पत्रकार सम्मेलन गरेका मन्त्री यादवले सचिवको गल्ती मात्र देखाएनन् सचिवको भर नै पर्न नहुने र उनीहरुलाई निर्णयको अधिकार दिन नहुनेसम्मको अभिव्यक्ति दिएका थिए ।

मन्त्री यादवको यस्तो अभिव्यक्ति आएपछि अहिले के साँच्चै सचिवहरु यस्तो गैरजिम्मेवार भएर काम गर्छन् त भन्ने प्रश्न उठेको छ । सचिवमाथि मात्र होइन सिंगो प्रशासनमाथि पनि प्रश्न उठेको छ । तर पूर्व प्रशासकहरु भने सचिवलाई दोष दिएर मन्त्री उम्कन नसक्ने बताउँछन् । मन्त्री यादवले दिएको अभिव्यक्ति पनि आफ्नो बचाउका लागि मात्र भएको पूर्व सचिव हरिराम कोइरालाको भनाई छ ।

मन्त्री मातृका यादवसंग मात्र होइन विभिन्न समयमा अन्य मन्त्रालयका मन्त्री र सचिवबीच पनि समन्वय अभाव र मनमुटावले गर्दा मन्त्रालयका निर्णयहरु विवादित बन्ने गरेका छन् । यस भन्दा अगाडी खानेपानी मन्त्री बिना मगर र सचिवबीचको टकरावले मेलम्ची आयोजना अन्यौलमा परेको छ ।

मन्त्री र सचिवले एक अर्कामाथि भ्रष्टाचार गर्न सेटिंग मिलाएकोसम्म आरोप प्रत्यारोप लगाएका थिए । मन्त्रालयको कार्यकारी पदमा बसेर एका अर्का माथि दोषारोपण गरी व्यक्तिगत उन्मुत्ती खोज्नु भन्दा समन्वय र सहकार्यमा राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्ने जरुरी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);