एजेन्सी, २३ असार । इरानले अमेरिकासहितका शक्तिशाली देशहरुले ऊमाथि लगाएको प्रतिबन्धमा थप उल्लंघनको घोषणा गरेको छ ।
उसले सम्झौताले तोकेको युरेनियम उत्पादन तथा विकासको सीमा उल्लंघन गर्ने बताएको हो । त्यहाँका उपविदेशमन्त्री अब्बास अराक्शीले सम्झौताअनुरुप चल्न इरान तयार रहे पनि युरोपियन देशहरुले आफ्नो प्रतिवद्धता पूरा नगरेकाले यस्तो निर्णय लिनुपरेको बताए । इरानको परमाणु कार्यक्रम रोक्न अमेरिकासहितका ६ देशले सन् २०१५ मा आपसमा एउटा सम्झौता गरेका थिए । जसमा ती शक्तिराष्ट्रहरुलाई पर्यवेक्षक स्वीकार्न इरान पनि तयार भएको थियो । तर, अमेरिकाले सन् २०१८ मा उक्त बहुपक्षीय सम्झौताबाट हात झिकेपछि नयाँ स्थिति उत्पन्न भएको छ । त्यसयता अमेरिकाले इरानमाथि कडा व्यवहार गर्दै आएको छ । अमेरिकाले सम्झौताबाट हात झिकेपछि इरानले चीन, फ्रान्स, जर्मनी, रुस र बेलायतलाई संयुक्त अपिल गर्दै अमेरिकालाई रोक्न ६० दिनको समय दिएको थियो ।
उक्त समयसिमा सकिनासाथ आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री अराक्शीले भने,’ इरान अब लो कन्सन्ट्रेसनभन्दा माथि ३.६७५ को स्तरमा युरेनियम सम्वर्दन काम थाल्न चाहन्छ । यो कार्य केही घण्टामै शुरु हुनेछ । उक्त युरेनियम विद्युत उत्पादनका लागि इन्धनका रुपमा प्रयोगमा ल्याइनेछ । इरानी राष्ट्रपति हसन रोहानीले आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल मेक्रोनसँग सम्झौताबारे छलफल गरेकै भोलिपल्ट इरानले सम्झौता उल्लंघनको घोषणा गरेको हो । रुहानीले इरानले सम्झौता उल्लंघन गरेको खण्डमा कस्तो प्रतिक्रिया आउला भन्नेबारे मेक्रोनसँग गहिरो चासो देखाएका थिए । रुहानीले सम्झौतालाई यथारुपमा बचाइराख्न यूरोपेली देशहरु गम्भीर हुनुपर्ने पनि बताएका थिए । इरानको यो घोषणाबारे अमेरिकासहितका शक्तिराष्ट्रहरुको प्रतिक्रिया आइसकेको छैन ।