कपिलवस्तुमा असारे विकासको चटारो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

कपिलवस्तुमा असारे विकासको चटारो

ashare bikash

कोपिला पोख्रेल

कपिलवस्तु, २० असार । आर्थिक वर्षको अन्तिमतिर भ्याईनभ्याई विकास निर्माण गर्ने प्रवृत्ति नेपालको लागि नौलो होइन । असार लागेपछि सडक कालोपत्रेका कामहरु धमाधम हुन थालेपछि बजेट सक्नैका लागि काम भएको सरकारमाथि जनताको आरोप छ ।

राजधानी काठमाडौं जस्तै अहिले कपिलवस्तुमा पनि सडक निर्माणले सक्रियता पाएको छ । कृषकहरुको समस्या बनेको मनसुनको निष्क्रियता असारे बजेटका लागि भने फलदायी भएको छ ।

कपिलवस्तुमा अहिले विकास निर्माणका काम धमाधम भईरहेका छन् । सडक ग्राबेल, कालोपत्रे, पाटी, पौवा निर्माणको कामले व्यापकता पाएको छ । असार मसान्त नजिकिँदै गर्दा एकातिर गुणस्तरहीन काम हुने र अर्काेतिर बजेटकोसमेत दुरूपयोग हुने आमनागरिकहरुको बुझाई छ । नागरिकहरुले सरकार बर्ष भरि निदाउने अनि असारमा बजेट सकाउन हिलोमा बाटो पिच गर्ने आरोप लगाउने गर्दछन् । असारमा भईरहेको सडक निर्माण कार्य आफुहरुको खेतीका लागि बाधा बनेका कपिलवस्तु बाणगंगा नगरपालिकाका स्थानीय कृषकहरुको भनाई छ ।

असार वर्षाको समय भएकाले सामान्यतया यो समयमा गरिएका सडकको कालोपत्रे टिकाउ भएको पाइँदैन । तर यो वर्ष अझै पनि मनसुन सक्रिय नभएका कारण सडकको कालोपत्रे गुणस्तरीय हुने बाणगंगा नगरपालिका २ का वडा अध्यक्ष विष्णुप्रसाद पौडेलले दाबी गर्नुभयो ।

कपिलवस्तुमा विकास निर्माणका कार्य ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भईसकेको छ । बाणगंगा नगरपालिकाका ११ वटै वडाका काम सत प्रतिशत सम्पन्न भएपनि संघ र प्रदेशबाट आएका योजनाका कालोपत्रे सडकहरु निर्माण भईरहको छ । केन्द्र सरकारबाट आउनु पर्ने बजेट ढिलो आएकाले मात्र केही कामहरु बाँकी रहेको कपिलवस्तुका उपमेयर चक्र अर्यालले बताउनु भयो ।

अहिले असारे विकासको चटारो कपिलवस्तुमा मात्र होइन देशभर नै देखिएको छ । आम नागरिकहरुले बजेट सकाउन आर्थिक बर्षको अन्त्यमा सडकहरुमा कालोपत्रे गरेको आरोप लगाई रहेपनि सरोकारवालाहरु भने कालोपत्रेका लागि उपयुक्त तापक्रम यही समयमा हुने भएकाले असारमा कालोपत्रे गरिने बताउँछन् । तर असारमा गरिएका कालेपत्रे कमजोर भएर छिटृै उप्किने र भत्किने गरेको सर्वत्र देख्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);