मुस्ताङको दुई रिङरोड सडक स्तरोन्नति धमाधम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मुस्ताङको दुई रिङरोड सडक स्तरोन्नति धमाधम

सुन्दरकुमार थकाली,
मुस्ताङ ।
हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाअन्तर्गतका पाँचवटै वडा जोड्ने रिङरोड सडक स्तरोन्नति अहिले धमाधम सुरू भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक महत्वको सडक’ अन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ र तल्लो मुस्ताङको घरपझोङ गाउँपालिकाका दुईवटा रिङरोड सडक स्तरोन्नति भइरहेको छ ।

मुस्ताङको जोमसोमदेखि धार्मिक, सांस्कृतिक, कृषि र पर्यटकीय सम्भावना बोकेको ठिनी, ढुम्बाताल, छैरो, चिमाङ, मार्फा स्याङ गरी पाँच गाउँलाई जोड्ने ११ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ ।

सम्झौता अवधि दुई वर्ष रहेको घरपझोङ रिङरोड सडक स्तरोन्नति २६ असार २०७६ देखि सुरू गरिएको थियो । घरपझोङ रिङरोडको सम्झौता अवधि गत २६ असारमा सकिँदा भौतिक प्रगति २५ प्रतिशतमात्र भएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

कार्यालयकाअनुसार बहुवर्षीय सडक आयोजनाअन्तर्गत घरपझोङ रिङरोड सडकको कुल लागत २१ करोड ४३ लाख रुपैयाँ रहेको छ । रिङरोडको पाँच किलोमिटरका दूरी ढुम्बातालसम्म कालोपत्रे गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालय मुस्ताङका सूचना अधिकारी रवीन चोख्यालले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालय मुस्ताङले चालू आर्थिक वर्षभित्रै सडक निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीलाई कार्यक्षेत्रमा परिचालन गरिएको उल्लेख गरेको छ । घरपझोङ रिङरोड सडकको सम्झौता अवधि सकिएकाले कार्यालयले म्याद थपको प्रक्रिया अघि बढाउन गत २५ असारमा प्रदेश सरकारलाई प्रस्ताव पेस गरेको छ ।

चालू आवमा प्रदेश सरकारबाट घरपझोङ रिङरोडका लागि तीन करोड २५ लाख रुपैयाँ विनियोजन भएको र नपुग थप बजेट प्रदेश सरकारसँग माग गरिएको पूर्वाधार विकास कार्यालयको भनाइ छ । घरपझोङ रिङरोड सडक स्तरोन्नतिको काम जलजला निर्माण सेवाले लिएको हो ।

गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सुरुवाती आर्थिक वर्ष २०७६र७७ सालमा पाँच करोड रुपैयाँ विनियोजन गरिएको थियो। सो आर्थिक वर्ष कोरोना महामारीका कारण रिङरोड सडकको पाँच करोडमध्ये तीन करोड १४ लाख बजेट काम हुन नसकी फ्रिज भएको थियो ।

यस्तै, कोरोना कहरको दोश्रो आर्थिक वर्षमा भने रिङरोड सडकको शतप्रतिशत काम सम्पन्न भएको छ । सो वर्ष प्रदेश सरकारमार्फत विनियोजित तीन करोड ८० लाख बजेटमध्ये तीन करोड ७६ लाख खर्च भएको पूर्वाधार विकास कार्यालय मुस्ताङले जनाएको छ ।

घरपझोङ रिङरोड कन्स्ट्रक्सनका साइड इञ्चार्ज भुपराज खनालले सुरुवाती चरणको पहिलो वर्षमा कोरोना कहरको कारण काम हुन नसकेको बताए । उनले दोस्रो वर्ष सडक स्तरोन्नतिको काम भएको र बाँकी काम कन्ट्रक्सनले चालू आवभित्रै सक्ने गरी जनशक्ति र उपकरण कार्यक्षेत्रमा खटाइएको बताए ।

मुस्ताङको घरपझोङ रिङरोड सडक स्तरोन्नति सुरू गरिनुअघि साविक जिल्ला विकास समितिले जोमसोम, ठिनी, ढुम्बातालसम्म कच्ची सडक विस्तार गरेको थियो । सोही सडकलाई स्तरोन्नति गर्दै सडक चौडा गर्ने, ग्रेड मिलान गर्ने र सडक बेसका लागि ग्याबिन वाल लगाउनेलगायतको काम भइरहेको छ ।

यस्तै रिङरोड सडकअन्तर्गत निर्माण कम्पनीले ६ किमी सडकमा नयाँ ट्रयाक खोल्ने काम गरिरहेको छ । जसअन्तर्गत घरपझोङ मार्फाको कालीगण्डकी पारीको भिरालो सतहमा करिब दुई सय मिटर रक कटिङ गरी सडक ट्रयाक खोल्न बाँकी रहेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);