मैलुङ–स्याफ्रु सडक खण्ड स्तरोन्नति अलपत्र  | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मैलुङ–स्याफ्रु सडक खण्ड स्तरोन्नति अलपत्र 

रसुवा । राष्ट्रिय गौरवको योजना गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकको ठेकेदार कम्पनीले बीचमै काम छोडी सम्पर्कविहीन हुँदा मैलुङ–स्याफ्रुखण्डको स्तरोन्नति एवं सुधार अलपत्र परेको छ ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको बेत्रावती–मैलुङ–स्याफबेंसी सडक मैलुङदेखि स्याफ्रुबेसीसम्म १७ किलोमिटर भू–भागको सडक स्तरोन्नति टेवापर्खाल, नाली निर्माण एवं कालोपत्रेसमेतका कार्य सम्पन्न गर्न ठेक्का पाएको भारत÷सिद्धिशाही कन्स्ट्रक्सन जेभीले काम नगर्दा राष्ट्रिय गौरवको आयोजना निर्माण अलपत्र परेको हो ।

३० पुस ०७९ सम्ममा सडक स्तरोन्नति सम्पन्न गर्ने गरी भारत कन्स्ट्रक्सन÷सिद्धिशाही जेभीले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी– रसुवागढी सडक योजनासँग १ साउन ०७७ मा सम्झौता गरेको थियो । सम्झौताअवधि पूरा हुन १० महिना मात्रै बाँकी छ । तर, हालसम्म भौतिक प्रगति सन्तोषजनक नभएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँशी–रसुवागढी सडक योजनाका प्रमुख नीरज शाक्यले बताए । एक अर्ब ४५ करोड रुपैयाँको लागतमा लागतअनुसार कार्य सम्पन्न गर्ने–गराउने सम्झौता गरी कार्यारम्भ गरेको सो कन्स्ट्रक्सनले ३५ करोडको बिल भुक्तानी लिएर ५ फागुनदेखि काम छाडि सम्पर्कविहीन भएको छ । उक्त कन्स्ट्रक्सनलाई पत्राचार गरेर काममा फर्कनलाई ताकेता गरिरहेको आयोजनाका प्रमुख शाक्यले बताए ।

ठेकेदार कम्पनीका प्राविधिक फागुनमा हिँडेपछि उक्त क्षेत्रमा रहेको निर्माण उपकरण र सवारीसाधनसमेत लगेकाले स्थलगत काम पूर्ण रूपमा अहिले बन्द भएको छ । सूचना जारी गरी काममा फर्कन अनुरोध गर्दासमेत सम्पर्कमा नआएका पछि नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ । ठेक्का रद्दका लागि चरणबद्ध रूपमा दोस्रो सूचना पुनः जारी गर्ने तयारी भएको आयोजना प्रमुख शाक्यले बताए । बीचमा काम छोडि त्रिदेशीय राजमार्ग निर्माणमा बाधा पुर्‍याउने कम्पनी पुनः काममा नफर्किए निजले अग्रिम पेस्कीबापत बुझेको साढे १२ करोड असुल गरी नयाँ प्रक्रियामा अगाडि बढ्न लागेको छ ।

मैलुङ्ग–स्याफ्रु सडक खण्डमा गर्नुपर्ने १६ वटा पुलमध्ये चारवटा सम्पन्न भई यातायात चालू भइसकेको र अन्य पक्की पुल धमाधम निर्माण भइरहेका छन् । यसरी सम्पन्न हुने पुलमा नुवाकोट जिल्लाको कोल्फु खोला, महेश खोला, गेर्खु खोला र रसुवा एवं नुवाकोटको सीमाना फलाखु खोलाको पुल साइटका स–साना कामबाहेक अन्य संरचना निर्माण सम्पन्न भइसकेको छ ।

मंसिर, पुस, माघको चिसोमा काम गर्ने कामदारको दैनिक ज्यालासमेत उक्त भारत सिद्धिशाही कन्स्ट्रक्सनले नदिएको भन्दै ज्याला असुलउपरका लागि मजदुरबाट निवेदन पाप्त भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड नेपाली सेनाले निर्माण गरेको डबल लेनको सडक हो । सो सडकखण्डको लम्बाई १७ किलोमिटर छ ।

यस सडक बेत्रावती–कालिकास्थान– धन्चे हँुदै स्याफ्रुबेँशी जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती–कालिकास्थान–धुन्चे हुँदै स्यापु्रm पुग्न ५४ किलोमिटर रहेको बेत्रावती–मैलुङ–स्याफबेंसीको दूरी २९ किलोमिटर मात्रै छ । पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चेखण्डमा धेरै घुम्ती पार गर्नुपर्छ भने यो सडकमा कतै पनि घुम्ती छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);