काठमाडौं, २० असार । रीत गौतमको शतक र कुशल मल्लको अर्धशतकमा एसीसी यू–१९ इस्ट्रन रिजन क्रिकेट अन्तर्गत नेपालद्वारा सिंगापुर २१७ रनले पराजित भएको छ ।
शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । नेपालले सिंगापुरलाई ३२७ रनको विजय लक्ष्य दिएको थियो । सिंगापुर समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
मलेसियाको किनरारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रनको विशाल योगफल खडा गरेको हो । पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको साविक विजेता नेपालले यस खेलमा जित हासिल गरे समूह ए को विजेता बन्नेछ ।
ओपनर रीत गौतमको सानदार शतक र खडग बहादुर बोहोराले ९० रनको पारी खेलेपछि नेपालले विशाल योगफल बनाएको हो । बलिङतर्फ सिंगापुरका प्रणव र विनित मेहताले २–२ विकेट लिएका छन् ।




