काठमाडौं, १३ असार । अमेरिकाको सर्वोच्च अदालतले सन् २०२० मा हुने जनगणनाको क्रममा नागरिकता सम्बन्धी प्रश्न थप गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय कार्यान्वयन गर्नमा रोक लगाएको छ ।
ट्रम्प प्रशासनले सन् २०२० मा हुने जनगणनाको क्रममा तत्कालीन समयमा नागरिकताको अवस्था बारे थाहा पाउन प्रश्न थप गर्ने निर्णय गरेको थियो । सीमान्तकृत मतदाताको संरक्षणमा सहयोग पुग्ने भएकाले नागरिकता सम्बन्धी प्रश्न थप गर्नु पर्ने ह्वाइट हाउसले दाबी गर्दै आएको थियो । तर विपक्षीले भने आप्रवासी बासिन्दालाई जनगणनामा सहभागी हुन निरुत्साहित गर्ने भन्दै त्यसको विरोध गरेका थिए ।आफूहरुको जानकारी कानून कार्यान्वयन गर्ने निकायमा साझा हुने भए नागरिकता सम्बन्धी प्रश्नले आप्रवासी परिवारका सदस्यमा पर्ने विपक्षीको भनाई छ ।सर्वोच्च अदालतले प्रश्न थप गर्न रोक लगाएपछि राष्ट्रपति ट्रम्पले जनगणना नै पछि सार्न प्रयास गर्ने बताएका छन् ।




