पाँच भारतीय नागरिकको नागरिकता रद्द | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

पाँच भारतीय नागरिकको नागरिकता रद्द

nagarikata

काठमाडौं, १३ असार । सरकारले झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएका पाँच भारतीयका नाममा जारी नागरिकता रद्द गर्दै नागरिकता वितरणमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले त्यसबारे जानकारी गराएका हुन् । सप्तरी, धनुषा, रौतहटबाट नागरिकता लिने जीवनकुमार सिंह, धर्मेन्द्र ठाकुर, अजयकुमार ठाकुर, यमुना सिंह र कृपाली राउत भनी चिनिने कृपाली सिंहलाई कारबाही गर्ने सरकारले निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले मकवानपुर थाहा नगरको स्वच्छन्द भैरव माध्यमिक विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको एक सय ७९ रोपनी १२ आना दुई पैसा जग्गा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ खारेज गरी संघीय सवारी तथा यातायात व्यवस्थासम्बन्धी विधेयक, २०७६ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति पनि दिएको छ । संघको पदमा समायोजन भएका नेपाल वन सेवाका राजपत्रांकित प्रथम श्रेणीका प्राविधिक कर्मचारीहरूमध्ये सातजनालाई प्रदेशसचिव पदमा पदस्थापना गर्ने निर्णय भएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।

सरकारले राष्ट्रियस्तरमा ‘वृक्षरोपण वर्ष’ कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको छ । मुलुकलाई फलफूलमा आत्मनिर्भर एवं निर्यातयोग्य बनाउन प्रत्येक वर्ष १४ असारमा फलफूललगायतका बिरुवा रोपण गरी देशव्यापी रूपमा राष्ट्रिय वृक्षरोपण दिवस मनाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । काठमाडौं महानगरपालिका सहआयोजक रहने गरी नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौंमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्डस् (आइफा) का लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);