काठमाडौं, २१ भदौ । प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले प्रशासकीय अदालतको काम कार्वाहीप्रति असन्तुष्टि जनाएका छन् । प्रधानन्यायाधिश पराजुलीले प्रशासकीय अदालत कर्तव्यच्यूत भएको बताए ।
उनले प्रशासकीय अदालतको काम कार्वाही अधूरो, अपूरो र हुनुपर्ने जस्तो नभएकोतर्फ पनि सचेत गराएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रशासकीय अदालतको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधिश पराजुलीले प्रशासकीय मुद्दाहरुको चाङ अदालतमा विचाराधिन रहेकोमा आफू पिरोलिने गरेको बताए ।
उनले प्रशासकीय अदालतले कर्मचारी प्रशासनलाई व्यवस्थापन गर्न विश्वमा महत्वपूर्ण भूमिका निर्वाह गरेपनि नेपालमा त्यसो हुन नसकेकोमा आफू दुःखी भएको बताए । प्रधानन्यायाधिश पराजुलीले प्रशासकीय अदालतको क्षेत्राधिकार नै संकूचित हुँदै जानु आम जनताको हितमा नरहेको स्पष्ट पारे ।
प्रधानन्यायाधिश पराजुलीले प्रशासकीय अदालतले प्रशासनिक संरचनाको व्यवस्थापन गरी आम जनतालाई चित्तबुझ्दो न्याय दिन सक्षम हुनुपर्नेमा जोड दिए । उनले संवैधानिक अदालत र प्रशासकीय अदालत दुवैले आम जनतालाई न्याय दिने काममा ढिलाई गर्न नहुनेतर्फ ध्यान दिन आग्रह गरे ।