काठमाडौं, १० असार । प्रमुख गन्तव्य मुलुकमा कोमा तथा पक्षघातमा परेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्ने विषयमा सरकारले ६ वर्षदेखि कार्यदल बनाई अध्ययन गरे पनि एउटै बिरामी ल्याएको छैन ।
तीनवटाभन्दा बढी कार्यदलले दिएका प्रतिवेदन कार्यान्वयन नगरी वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सोमबार अर्को कार्यदल बनाएको छ । गन्तव्य मुलुकमा यस्ता बिरामी २८ जना छन् ।
कोमाका बिरामी ल्याउन लाग्ने खर्च निकै धेरै हुने भएपछि यसको कानुनी आधार खोज्न बोर्ड बैठकले पुनः श्रम मन्त्रालयको सहसचिवको अध्यक्षतामा कार्यदल बनाएको हो । खाडीस्थित नेपाली दूतावासले कोमाका बिरामीलाई स्वदेश ल्याउन सरकारलाई दबाब बढाएपछि अध्ययनका लागि भन्दै कार्यदल बनाउन सुरु गरिएको थियो ।
परराष्ट्र, स्वास्थ्य र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फरक–फरक समयमा बनाएका उच्चस्तरीय कार्यदलले प्रतिवेदन बुझाइसकेका छन् । त्यस्ता बिरामी ल्याउने विषयमा भने ठोस निर्णय हुन सकेको छैन । ‘यहाँ नेपाली उपचाररत अस्पतालबाट आउने प्रेसरलाई दूतावासले कुन हदसम्म सम्मान गरेको छ भन्ने विषय सिंहदरबारले नबुझेको देख्दा उदेक लाग्छ,’ खाडीका एक कूटनीतिक अधिकारीले भने, ‘काठमाडौंमा सधैं कार्यदल मात्रै बन्छ । हामीले यहाँ ठोस जवाफ दिन सकेका छैनौं ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।