अलोकतान्त्रिक शक्तिको वहकाउमा नलाग्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८३, शनिबार

अलोकतान्त्रिक शक्तिको वहकाउमा नलाग्न कांग्रेसलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडाैं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक शक्तिको वहकाउमा नलाग्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले विगतमा पटक पटक लडेर ल्याएको लोकतन्त्रलाई भड्काउने र विथोल्ने काम भएको स्मरण गराउँदै फेरी पनि भड्काउमा नपर्न कांग्रेसलाई सचेत गराउनुभएको हो ।

उहाँले भन्नुभयो “राजनीति शक्तिहरुलाई म आग्रह गर्न चाहन्छु । पटक पटक जनताका अधिकार दरबार बुझाईएका इतिहास छन् । आवेश, उत्तेजना र भावनामा बगेर नदोहोर्याउ ।”

लोकतन्त्रका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी
ठुलो बलिदानी र लँडाई संघर्ष गरेर प्राप्त गरेको सफलता र आन्दोलनबाटै आएको नेतृत्व सरकारमा रहेको भन्दै उहाँले लोकतन्त्रको पछाडि बसेर उत्तेजित पार्न खोज्ने तत्वबाट सजग हुन आग्रह गर्नुभयो । उहाँले लोकतन्त्रका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी भएको र त्यो शक्ति लोकतन्त्रलाई विथोल्न लागि परेको बताउनुभयो । उहाँले लोकतान्त्रिक शक्ति नै अलोकतान्त्रिक शक्तिको मोर्चाबन्दीमा परेको देख्दा आफुलाई आश्चर्य लागेको बताउनुभयो ।

घोर दक्षिण पन्थीदेखि घोर वामपन्थी समेत एकजुट

उहाँले भन्नुभयो “लोकतन्त्रका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी स्पष्ट ढंंगले देखिएको छ । घोर दक्षिणदेखि घोर वामपन्थी तत्वहरु समेत एकजुट भएका छन् । जुन कुराप्रति सजग हुनुपर्ने लोकतान्त्रिक शक्तिहरु नै लोकतन्त्रलाई विथोल्न अग्रसर भएको देख्दा आश्चर्य चकित लागेको छ । ”

साना तिना विषयमा माईतिघर

मतभेदहरु छलफल गर्न सरकार सधै तयार भएको भन्दै उहाँले साना तिना विषयमा माईतिघर मण्डला पुग्ने प्रवृति त्यागेर जनताले प्राप्त गरेका उपलब्धिलाई रक्षा गर्ने काममा ध्यान केन्द्रीत गर्न सबैलाई आव्हान गर्नुभयो ।

उहाँले ठूलो बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व भएको भन्दै उहाँले सरकार राष्ट्रिय हित र स्वभिमानप्रति दृढ रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गरेको पार्टी लोकतन्त्र र लोकतान्त्रिक प्रणालीप्रति प्रतिवद्ध रहनुको साथै प्रेस स्वतन्त्रता, मानवअधिकार प्रति प्रतिवद्ध रहँदै बहुआयामिक पक्षमा ध्यान दिएर अघि बढिरहेको स्पष्ट पार्नुभयो । सामाजिक न्याय र समानतामा जोड दिंदै शान्ति, स्थिरता र स्थायित्वको पक्षमा सरकार रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले सम्मृद्धिको कामलाई सरकारले अघि बढाउने भयो भनेर केही तत्वहरु आत्तिएको उल्लेख गर्नुभयो ।

संसद अवरोधबारे

उहाँले कांग्रेसले संसदमा अत्यन्तै असंसदीय, अमर्यादित व्यवहार देखाएको आरोप लगाउनभयो । संसदीय प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको बेला संसदलाई विभिन्न विषयहरुमा सरकारका दृष्टिकोण, निर्णयहरु र गतिविधिबारे जानकारी गराउने अन्तर्राष्ट्रिय अभ्यास रहेको भन्दै उहाँले कांग्रेसले त्यसमा अवरोध पुर्याएर अमर्यादित काम गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र प्रधानमन्त्रीले लिएको समय भन्दा पहिले आफुले बोल्नुपर्छ भन्ने कुरा लोकतन्त्रमा कही पनि हुँदैन । तर आश्चर्य लाग्दो कुरा आज प्रधानमन्त्रीका लागि तय भएको समयमा आफुले बोल्न पाउनुपर्छ भनेर वेलमा गएर संसदको कारवाहीलाई अवरोध गरियो । लोकतान्त्रिक अभ्यासमा पहिला प्रधानमन्त्रीले, त्यसपछि विपक्षी दलका नेताले र त्यसपछि वरिताक्रममा बोलने प्रचलन अन्तराष्ट्रिय हो ।”

उहाँले ‘हरेक कुरामा निहुँ खोज्ने तरिकाबाट कांग्रेस अघि बढीरहेको र त्यसको नेतृत्व स्वयम दलका नेता शेरबहादुर देउवा जीले गरेको देख्दा’ आफुलाई आश्चर्य चकित बनाएको प्रतिक्रिया दिनुभयो ।

गुठी विधेयकबारे

उहाँले गुठी विधेयकका सम्बन्धमा उल्टो र भ्रमपुर्ण कुराहरुको प्रचार गरिएको बताउनुभयो । आफु देश बाहिर भएको बेला गुठी सम्बन्धी विधेयकलाई लिएर तनाब फैलाउने काम भएको टिप्पणी गर्नुभयो ।

गुठीलाई व्यवस्थित पार्ने सम्बन्धमा विभिन्न समयमा प्रयास गरिएको भएपनि अहिलेसम्म सही ढंगले व्यवस्थापन गर्न नसकिएकाले विधेयकमार्फत प्राधिकरणको रुपमा लैजानका लागि सरकारले प्रयास गरेको उहाँले स्पष्ट पार्नुभयो ।

विधेयकका बारेमा भ्रमपुर्ण वातावरण श्रृजना गरेर त्यसभित्र लोकतन्त्र विरोधी शक्तिहरु घुसेर लोकतन्त्रका जरा काट्ने कैचीहरु देखिएपछि विभागिय मन्त्रीले विधेयक फिर्ता लिने निर्णय गर्नुभएको भन्दै उहाँले सो निर्णयको समर्थन गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली भाषा, सभ्यता, शैली र संस्कृतिका विषयमा संवेदनशिल हुन संचार क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “संचार क्षेत्र संक्रमणकालिन अवस्थामा छ । सामाजिक मुल्य, मान्यता, मर्यादा, भाषा हेर्ने हो भने हाम्रो टेलिभिजनले तपाई भन्न कसैलाई नै जान्दैन । तपाई भन्ने शब्द नै हराईसक्यो ।”

युरोप भ्रमणबारे

पत्रकार सम्मेलनमा उहाँले आफ्नो युरोप भ्रमण र सो क्रममा भएका दुईपक्षीय भेटका बारेमा स्पष्ट पार्नुभएको थियो । भ्रमणले ती मुलुकसंगको नेपालको सम्बन्धलाई अघि बढाउने काम भएको दाबी उहाँले गर्नुभयो ।

ताजा समाचार