नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई प्रतिगमनका विरुद्धको आन्दोलनको तयारी गर्न निर्देशन दिनुभएको छ ।
झापामा आयोजित ‘नेकपा एमाले मिसन पार्टी जागरण’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा केन्द्रित हुन पनि कार्यकर्तालाई आग्रह गर्नुभयो । अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा हरेक वडा र क्षेत्रमा जित हासिल गर्ने उद्देश्यका साथ तयारी थाल्न आग्रह गर्नुभयो । उहाँले कार्यकर्ताहरूलाई अनावश्यक हल्लाको पछाडि नलाग्न र पार्टीको लक्ष्यमा अडिग रहन समेत आग्रह गर्नुभयो । पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै अध्यक्ष ओलीले गुटबन्दीले पटक–पटक पार्टीलाई क्षति पु¥याएको उल्लेख गर्नुभयो । उहाँले पार्टीको हितविपरित बोल्ने र अनुशासनहीन गतिविधि गर्नेहरूलाई सम्झाउन र बुझाउन समेत निर्देशन दिनुभयो । संगठन सुदृढीकरणका क्रममा आवश्यकताअनुसार कमिटी र जनसंगठनहरूको पुनर्गठन र पुनर्जागरण गरिने उहाँको भनाइ छ । तर पुनर्गठनको आवरणमा नेतृत्व विरुद्ध षड्यन्त्र गर्ने प्रवृत्तिप्रति उहाँले चेतावनी दिनुभयो ।
अध्यक्ष ओलीले ‘आफैं जागौं र अरूलाई पनि जगाऔं’ भन्ने मूल मन्त्रका साथ वास्तविक जागरण अभियानमा लाग्न कार्यकर्ताहरूलाई आह्वान गर्नुभयो । उहाँले पार्टीलाई एकतावद्ध बनाउँदै प्रतिगमनका विरुद्धको आन्दोलन र निर्वाचनको तयारीलाई नै मुख्य प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।





