महाकाली बाढीको सात वर्ष : पीडित अझै भाडाको अस्थायी टहरामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महाकाली बाढीको सात वर्ष : पीडित अझै भाडाको अस्थायी टहरामा

mahakali badhi

बासुदेव बडु
दार्चुला, ३ असार । दार्चुलामा एक सय १० घरपरिवारमा क्षति पुग्ने गरी महाकाली नदीमा बाढी गएको सात वर्ष बित्यो तर बाढीपीडितहरु अझै भाडाको अस्थायी टहरामा जिविकोपार्जन गरिरहन बाध्य छन् । महाकाली नदीमा भिषण बाढी गएको सात वर्ष वितिसक्दा पनि उचित व्यवस्थापन पाउन नसकेको पीडितहरुको गुनासो छ ।

२०७० साल असार २ गते महाकाली नदीमा गएको भीषण बाढीले दार्चुला सदरमुकाम खलंगा लगायत महाकाली नदीको तटिय क्षेत्र बगाएको ७ वर्ष पुरा भएको छ । बाढीले धेरैलाई घरबार विहीन बनायो । पीडित कतिपय परिवार पुर्नस्थापनाको आशामा दार्चुला सदरमुकाम खलगांमा स्थानीयको जमिन भाडामा लिई अस्थायी टहरामा बसोबास गर्न बाध्य छन् भने कतिपय बाढीपीडित दार्चुलाबाट बिस्थापित भई सकेका छन् । तर राज्यले महाकाली नदी बाढीपीडितहरुको व्यवस्थापनका लागि चासो देखाएका छैनन् ।

गत वर्ष पुष ६ गते महाकाली नदी बाढी पीडितहरुले नेपाल सरकार प्रधानमन्त्री कार्यालय, नेपाल सरकार अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई ज्ञापनपत्र समेत बुझाएको र प्रधानमन्त्री केपी शर्मा ओलीबाट व्यवस्थापनका लागि आश्वासन प्राप्त भएको बाढीपीडित रघुविर सिंह ठगुन्नाले बताएका छन् ।

महाकाली नदीमा गएको बाढीले त्यतिबेला दार्चुलामा एक सय १० घर परिवार प्रभावित भएका थिए । स्थानीयको घरजग्गा लगायत नगदी र जिन्सी गरी तीन अर्ब बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्यांक छ । बाढीपीडित स्थानीयहरु करोडौँको सम्पति क्षति भए पश्चात राज्यले व्यवस्थापन नगर्दा सडकको छेउमा फलफुल र तरकारी बेचेर र कतिपय दैनिक ज्याला मजदुरीमा काम गरी आफ्नो दिनचर्या चलाउन बाध्य छन् । निर्वाचनका बेला सबै राजनैतिक दलहरुले मत माग्नका लागि व्यवस्थापनको लोभ देखाएर सबैले राजनीति मात्र गर्न खोज्ने बाढीपीडित लोकमणी ठगुन्नाले गुनासो गरेका छन् ।

जिल्ला समन्वय समितिले पटकपटक बाढीपीडितहरुको व्यवस्थापनका लागि पहल गरेपनि केन्द्र सरकारको तर्फबाट कुनै कदम नचालिएको समितिका संयोजक करविर बहादुर कार्कीले बताउनु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएपनि व्यवस्थापनका लागि कुनै पहल नभएपछि पीडितहरु आक्रोशित छन् । आक्रोशकाबीच निराश दार्चुलाका बाढी पीडितहरु झिनो सहयोगको आशमा बाचिरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);