श्याम गुप्ता
बारा, ३२ जेठ । नेपाल आयल निगम अमलेखगंज डिपोले बाराका आठ वटा पेट्रोल पम्पलाई आपूर्ति बन्द गरेको छ । पेट्रोल पम्पमा अनियमितता भएको जनगुनासो बढेपछि स्थानीय प्रशासनले त्यस्ता पम्पमाथि नियमन गरी नेपाल आयल निगमलाई पत्र लेखी ईन्धन आपुर्ति रोक्का गर्न लगाएको हो ।
उपभोक्ताहरुको गुनासोपछि जिल्ला प्रशासन कार्यालय बाराले बारामा सञ्चालित पेट्रोल पम्पहरुमा नियमन गरि मापदण्ड विपरितका पम्पहरुलाई तेल आपूर्ति बन्द गरेको छ । बारामा सञ्चालित अधिकांश पेट्रोल पम्प मापदण्ड बिपरीत सञ्चालनमा रहेको पाईएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
उपभोक्तालाई कम परिमाणमा ईन्धन दिएर ठगी गर्नेदेखि दश गजा नजिक अनियमित तरिकाले पेट्रोल पम्प सञ्चालन गरेको पाईएको हो । कतिपय सर्वजनिक जग्गा र सडक अतिक्रमण गरी पम्प सञ्चालन गर्दै आएको भेटिएको छ ।
नियमनको क्रममा स्थानीय प्रशासनले करिब दुई साता यता आठ वटा पम्प बन्द गरेको छ । बिस्तार हुँदै गरेको वीरगंज–पथलैया ६ लेनको सडक मिचेर मापदण्ड बिपरीत जबरजस्ती सञ्चालन गर्दै आएको ६ वटा र सिमा नाका हुँदै भारत तस्करी गर्ने दुई पेट्रोल पम्प बन्द गरेको हो ।
जिल्ला प्रशासन कार्यालय कलैया बाराको पत्र अनुसार बारामा मात्रै आठ वटा पम्पमा नेपाल आयल निगमले इन्धन आपुर्ति बन्द गरेको हो । उपभोक्ता ठगी गर्ने तथा मापदण्ड नपुगेका पम्पहरुलाई तेल आपुर्ति बन्द थप कारबाही भने गरेको छैन । यस्ता नियमन कार्यलाई निरन्तरता दिई ठगी गर्नेमाथि कारबाही हुनुपर्ने स्थानीयवासीको माग छ ।




