सडककै जग्गा खरिद : दलित परिवारको बिल्लीबाठ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सडककै जग्गा खरिद : दलित परिवारको बिल्लीबाठ

sadak ko jagga

सिन्धुपाल्चोक, २५ जेठ ।  हेलम्बु ५ चित्रेकी कान्छी कमिनीले घरबासका लागि किउलको विस्थापित सरकारी अनुदानको २ लाख बराबरको जग्गा किनिन् । घर बनाउने बेला मात्रै उनले किनेको जमिनबाट किउल–चित्रे सडक जाने थाहा भएपछि परिवारको रुवाबासी चल्यो ।

‘उति बेला जग्गा पाउनु नै ठूलो थियो । यही भएर केही नसोची ल्याप्चे हानियो, झुक्याएर सडकमा पो पारिदिएछन्,’ ६१ वर्षीया कान्छीले सडक देखाउँदै भनिन्, ‘सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सीएसआरसी) को सहजीकरणमा किनेको जग्गामा सडक परेपछि कहाँ जाने, अन्योलमा छु ।’

उनले आफ्नो परिवारको बिल्लीबाठै भएको बताइन् । ६९ वर्षीय जितबहादुर विश्वकर्मा आफूलाई झुक्याइएको थाहा पाएपछि तनावमा छन् । ‘सरकारले घर बनाउन भनेर दिएको पैसा त सडकमा हालिएछ, म त छाँगाबाट खसेजस्तै भएँ,’ उनले भने । भूकम्पले घरसहित सर्वस्व क्षति भएपछि दुई वर्ष जताततै भौंतारिएको उनले सुनाए । बल्लबल्ल पाएको सरकारी अनुदान पनि खेर जाँदा अब के गर्ने भन्नेमै उनी अन्योल छन् ।

‘हामी दलित परिवार न घरको न घाटको भयौं,’ उनले भने । भूकम्प पराकम्पबाट आएको पहिलो धक्काले हेलम्बु ५ को दलित बस्ती ढलेको थियो । लामो समयपछि जग्गा किन्ने सरकारी प्रक्रियाअनुसार दुई लाख पाएका ६ परिवारले सीएसआरसीको सहजीकरणमा इन्द्रावती–४ का राजश्री हिमालय र हेलम्बु २ का पेम्बा शेर्पाबाट जग्गा पाए ।

जग्गाधनी पुर्जामा पर्याप्त जग्गा देखिएपछि आनन्दले गाउँ फर्किएका उनीहरू ऋण खोजेर पुनर्निर्माणमा जुटेका थिए । आवास बनाउने जमिन बाँडफाँड गर्नै लाग्दा सडक परेको थाहा भयो । दलित परिवारमा कोलाहल मच्चियो । ‘स्थलगत आएर हेरेपछि मात्रै हामी ठगिएको थाहा पायौं, त्यसपछि न्यायका लागि धाउन थाल्यौ ,’ मुरली विश्वकर्माले सुनाए । हेलम्बु ५ किउलका जनप्रतिनिधि र संस्थाका प्राविधिकले जसरी भए पनि चाँडो घर बनाउन दबाब दिएको उनीहरूको गुनासो छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);